शिक्षक अस्पताल चितवनमा बन्ने तयारी


     एभरेस्ट आवाज    
     माघ ६ गते २०७८ मा प्रकाशित




चितवन । शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने र यसका लागि तत्काल काम अघि वढ्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले यसका लागि जग्गा अस्पतालको नाममा आएपछि विस्तृत अध्ययन प्रतिवेदनको काम अघि बढ्ने जानकारी दिएका हुन् ।

कानुनी प्रक्रियाका कारण केही समय लाग्ने भए पनि अन्य कारणबाट काम नरोकिने उनको भनाइ छ । पूर्व सम्भाव्यता अध्ययन र जग्गा पहिचान समितिले बुधबार मन्त्री पौडेललाई भरतपुरमा अस्पताल बनाउन उपयुक्त हुने जनाउँदै प्रतिवेदन बुझाएको छ । सुरुमा तीन ३०० शय्याको अत्याधुनिक शिक्षक अस्पताल बनाइने छ । क्रमशः अस्पतालको शय्या थप गर्दै लगिने उनले बताए ।

अस्पताल परिषरमा कुरुवा घर समेत बनाइने छ । महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकाको वडा नं १५ भगवानपुरमा आवश्यक जग्गा उपलब्ध गराउने बताए । महानगरले सो स्थलमा रहेको ८ बिघा १६ कठ्ठा जग्गा उपलब्ध गराउन आवश्यक निर्णय गरी कागजपत्र समितिलाई उपलब्ध गराएको थियो । महानगरपालिकाले प्रमुख जिल्ला अधिकारीसहित जिम्मेबार सरोकारवालासमेत बसेर सो जग्गा शिक्षक अस्पतालका लागि उपलब्ध गराउने सहमति गरेको हो ।

सहमतिपत्रसँगै सार्वजनिक जग्गाको फिल्ड बुक र नक्शा, प्राविधिक (नापी कर्मचारी)को स्थलगत नापजाँच प्रतिवेदन, वडा नं १५ को सहमतिपत्र र महानगरपालिकाको निर्णय प्रतिलिपिसहित आवश्यक सम्पूर्ण कागजपत्र पेश गरिसकेको छ । देशकै केन्द्रभागमा रहेकाले चितवन उपयुक्त हुने भन्दै समितिले प्रतिवेदन बुझाएको हो । शिक्षक अस्पतालपछि शिक्षाण अस्पताल हुने उनको भनाइ छ । अस्पतालले यहाँको समग्र विकासमा समेत सहयोग पुग्ने जनाइएको छ ।

भरतपुरमा क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, सङ्घीय सरकारी अस्पतालको सुविधा भएकाले काठमाडौँ बाहिर आउँदै गर्दा भरतपुर जस्तो उपयुक्त ठाउँ अन्यत्र नहुने भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले जानकारी दिए । नेपालमा स्थायी शिक्षक एक लाख सात हजार, राहत ४० हजार, पाठ शिक्षक ४० हजार, विद्यालय कर्मचारी ३६ हजार, निजी स्कुलका शिक्षक एक लाख ५० हजार र पूर्ब शिक्षक ३० हजार रहेका छन् ।

यस अस्पतालले सर्वसाधारणको पनि उपचार गर्ने छ । अस्पताल बन्दै गर्दा कार्यविधि बन्ने र शिक्षक कर्मचारीले पाउने सुविधाको बारेमा निर्णय हुने उनले जानकारी दिए । नमूना अस्पताल बन्ने भन्दै उनले टाढाबाट आएका बिरामी र आफन्त बस्नका लागि कुरुवाघरसमेत हुने बताए । चितवनमा क्यान्सर उपचारका लागि देशैभरबाट बिरामी आउने गर्दछन् । केन्द्रियस्तरको भरतपुर अस्पताल र मेडीकल कलेजमा देशभरबाट बिरामी उपचारका लागि आउने गर्दछन् । भरतपुरलाई मेडिकल सिटीको रुपमा लिने गरिन्छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।