ऊ कमरेड नै हो।
सुनाए धेरैले मलाई,
उठबस उसको
दलालसँग छ।
संगत उसको,
पूँजीपतिसँग मात्र छ।
भित्रि ईच्छा छँदै छैन,
फगत सुने जस्तो मात्र गर्छ,
पीडा
गरीबका, श्रमिकका, सामान्यजनका।
मात्र राख्छ लालसा।
दिन रात
पदको, शक्तिको, सम्पत्तिको।
मिलेसम्म जाँड पार्टी अनि सुरा सुन्दरी।
ब्यक्तिगत भलाईलाई केन्द्रमा राखेर,
लोकतन्त्रको लामो पाठ सिकाउँछ।
साम्यबाद पनि भन्छ।
समाजबाद नभन्ने कुरै भएन।
कहिले जनबादी मात्रै ठिक हो भन्छ।
केन्द्रीयता मात्र ठिक हो पनि भन्छ।
जनबादी केन्द्रीयता नै चाहिन्छ पनि भन्छ।
सोझिए आफ्नो दुनो,
त्यही सरकार/त्यही दल/त्यही न्यायालय/त्यही छिमेकी
आदर्शवान मान्छ।
भोलिपल्टै नम्बर वान खराब भन्छ।
मात्र छ एकाग्रता उसको,
एक निर्वाचनदेखि अर्को निर्वाचनसम्म।
एक अधिबेशनदेखि अर्को अधिबेसनसम्म।
आजकलको जमानामा,
नभए,
घर घडेरी शहरमा,
चारपाङ्ग्रे ग्यारेजमा,
दुई/चार करोड शेयरमा,
आइफोन जाबो हातमा।
कसरी बन्छ त्यो मित्र उसको?
त्यो त बर्ग शत्रु बन्छ।
म आबेसमा आउनै लाग्दा,
आउँछ झट्ट मानसपटलमा,
गर्बिला बिगतहरु
पुराना याद बनेर।
समानता र न्यायका खातिर
ज्यानको बाजी लगाएकै हो।
माक्र्स, लेनिन, माओ, ग्वेभारा
र उनका बिचारबाट,
प्रभावित नै हो।
भोक, प्यास, थकाई
सबै सहेर
क्रान्तिकारी नारा घन्काएकै हो।
शोषणका विरुद्ध
आङ शिरिङग हुने भाषण दिएकै हो।
दलाली र निजीकरणको बिरोध गरेकै हो।
ऊ अभाव मै हुर्केको हो।
ढिँडोेको डल्ला र गुन्द्रुकको झोलले पेट भरेकै हो।
पार्टी कामको लागि कोषौ कोष डुल्दा,
चप्पलले खाला लएकै हो।
साँच्चै भनु ?
ऊ
मेरो आदर्श पनि त थियो।
अनि कसरी भनु,
ऊ कमरेड होइन।
ऊ कमरेड हो।
हो, ऊ कमरेड नै हो।
सबैमा सादर नमस्कार। लामो समयपछिको मेरो कोसेली। कुनै कमरेडको ब्यक्तिगत जीवनसँग मेल खाएमा संयोगमात्र मानिनेछ। प्रतिकृयाको अपेक्षा त छँदैछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







