भरतपुर । जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण तीव्ररुपमा बढेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ । भरतपुर अस्पतालले जिओपिडि र नियमित शल्यक्रिया सेवा आजबाट बन्द गरेको छ ।
शुक्रबारसम्म अस्पतालमा ११ चिकित्सकसहित ७७ स्वास्थ्यकर्मी सङक्रमित भइसकेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार जिओपिडि हेर्ने चिकित्सकले कोभिड–१९ का बिरामी हेर्नुपर्ने भएकाले तत्कालका लागि सेवा बन्द गरिएको हो ।
अस्पतालले बहिरङग सेवामा चाप घटाउन बिहान ८ः३० बजेदेखि जिओपिडि सञ्चालन गरेको थियो । छिटो अस्पताल आउने बिरामीका लागि लामो समय कुर्नुपर्ने बाध्यता समेत हटेको थियो । यस्तै पछि शल्यक्रिया गर्न मिल्ने बिरामीको शल्यक्रिया पनि तत्कालका लागि रोकिएको हो । यसबाट बिरामीलाई समस्या नपर्ने पौडेलको भनाइ छ ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार परीक्षण नगरिएका धेरै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा पनि सङ्क्रमणको लक्षण देखिएको छ । दैनिक यो सङ्ख्या बढ्दो छ । अन्य विभागमा जनशक्तिको समस्या भए पनि आलोपालो गरेर व्यवस्थापन गरिएको उनले बताए । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि ठूलो सङ्ख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोनाबाट प्रभावित भएका छन् ।
अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार नौ चिकित्सक, ६६ स्टाफ नर्ससहित १३६ स्वास्थ्यकर्मी र कर्मचारी सङ्क्रमित भएका छन् । अस्पतालमा धेरै चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा सेवा नरोकिएको भए पनि पहिले झै सञ्चालन गर्न नसकिएको उनले बताए । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुने दर बढ्दै गएको भन्दै खोप सेवा प्रभावित हुनसक्ने बताउछन् ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी यही ढङ्गले सङ्क्रमित बढ्दै गए सामान्य अवस्थाका सङ्क्रमित चिकित्सक स्वास्थ्यकर्मीले सङ्क्रमित बिरामीलाई उपचार गर्नुपर्ने अवस्था आउने बताउछन् । छोटो समयमै निको भएकाले ठूलो जटिल अवस्था नआउनेमा आफूहरु ढुक्क रहेको न्यौपाने बताउनुहुन्छ । जिल्लामा सङ्क्रमितको सङ्ख्या दुई हजार ७३६ पुगेको छ । उनीहरुमध्ये ४७ जनाको अस्पतालमा उपचार भइरहेको छ भने बाँकी घरकै आइसोलेशनमा छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







