पशु स्वास्थ्य संरक्षण कार्यक्रम लागु


     एभरेस्ट आवाज    
     माघ १० गते २०७८ मा प्रकाशित




तनहुँ । तनहँ मा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लामा पशु स्वास्थ्य संरक्षण कार्यक्रम लागू भएको जनाएको छ । पशु स्वस्थ नहुँदा उत्पादनमा ह्रास आउन थालेपछि यस कार्यक्रमलाई प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाइएको हो ।

पशुमा रोग लाग्दा १५ देखि २० प्रतिशतसम्म प्रजनन क्षमतामा कमी हुने एक अध्ययनले देखाएको हुँदा पशुलाई स्वस्थ्य राख्न विभिन्न किसिमका रोगविरुद्धको खोप दिन लागिएको कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए ।

मानव स्वास्थ्यसँग पनि उत्तिकै सरोकार रहने र करिब ६० प्रतिशत रोग पशुबाट मानिसमा सर्ने भएकाले नेपाल सरकारले वातावरण, पशु र मानवबीच एक स्वास्थ्य रणनीति नै पारित गरिसकेको छ । जिल्लाका पाँच पालिकाका गरी डेढ लाख बढी पशुलाई विभिन्न किसिमका खोप निःशुल्क रुपमा दिइनेछ ।

पृथ्वीराजमार्गअन्तर्गत पर्ने तनहुँको पूर्वीनाका आँबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र पश्चिम नाकामा रहेको शुक्लागण्डकी नगरपालिका क्षेत्रमा पालिएका पशुलाई खोप दिइनेछ । पूर्ण खोप अभियानअन्तर्गत पशुमा खोप लगाउन आवश्यक मात्रामा खोप उपलब्ध भइसकेको छ ।

बन्दिपुर र व्यासको लागि कार्यक्रम गर्ने लक्ष्य रहेपनि अन्य तीन पालिका थप गरी पाँच पालिकामा पनि खोप लगाउनका लागि करिब ४५ जनशक्ति कार्यक्षेत्रमा खटाइसकिएको छ । गतवर्ष बन्दिपुर र व्यासका गरी एक लाख २४ हजार बाख्रामा पीपीआर विरुद्ध खोप लगाइएको सो कार्यालयले जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।