कम्बोडियामा २० दिन यता कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य


     एभरेस्ट आवाज    
     माघ १० गते २०७८ मा प्रकाशित




होमपेन्ह्क । म्बोडियामा पछिल्लो २० दिनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शुन्यमा झरेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार वक्तव्य जारी गर्दै पछिल्लो २० दिनमा कोरोनाका कारण कम्बोडियामा कसैको पनि मृत्यु नभएको जनाएको हो ।

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसबाट सङक्रमितहरुको सङ्ख्या भने बढीरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो समयमा ४० जना नयाँ सङ्क्रमित थपिएसँगै ओमिक्रोनभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या ६२५ पुगेको छ । दक्षिणपूर्वी एसियाली यस मुलुकमा ओमिक्रोनको सङ्क्रमण सवैभन्दा पहिलो पटक सन् २०२१ को डिसेम्बर १४ मा देखिएको थियो ।

अफ्रिकी मुलुक घानाबाट आएकी कम्बोडियाली गर्भवती महिलामा पहिलो सङ्क्रमण पुष्टि भएको हो । कम्बोडियाका प्रधानमन्त्री हुनसेनले ओमिक्रोनबाट सङ्क्रमित सवैलाई चाहेको अवस्थामा घरमै उपचारको व्यवस्था गरिने घोषणा शुक्रबार गर्नुभएको छ । कोरोनाभाइरसको महामारीको सुरुवात भने कम्बोडियामा सन् २०२० को जनवरी देखि भएको मन्त्रालयले जनाएको छ ।

महामारी सुरु भएदेखि अहिलेसम्म कम्बोडियामा कारोनाभाइरसबाट एक लाख २१ हजार ६६ जना सङ्क्रमित भएका छन् । कुल सङ्क्रमित मध्ये तीन हजार १५ जनाको मृत्यु भएको छ भने एक लाख १७ हजार २३२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

देशको कुल जनसङ्ख्याको ८९।६ प्रतिशतले कोरोनाभाईरस विरुद्धको कम्तीमा एउटा खोप लगाएको तथ्याङ्क छ । कम्बोडियामा चीनमा बनेको सिनोभ्याक र सिनोफार्म खोप प्रयोग गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।