गण्डकी प्रदेशमा ३ सातामा ३०० स्वास्थ्यकर्मी संक्रमित


     एभरेस्ट आवाज    
     माघ ११ गते २०७८ मा प्रकाशित




पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर संक्रमित हुनेको संख्या बढेको छ।

आम नागरिकसँगै कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत संक्रमित हुने क्रम बढेको छ।

गण्डकी प्रदेशमा मात्र ३ साताका अवधिमा ३०० का हाराहारीमा चिकित्सक र नर्सलगायतका स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।
कोरोनाका बिरामीको उपचार हुँदै आएका पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र संक्रामक तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मी बढी संक्रमित छन्। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरमा फैलिइरहेको अवस्थामा अग्रभागमा रहेर स्वास्थ्योपचार गर्ने स्वास्थ्यकर्मीसमेत संक्रमित भएपछि पोखरामा स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५ जना स्टाफ नर्स सहयोग गरेको छ।

केही दिनअघि नेलम्बोले सरुवा तथा संक्रामक अस्पताललाई समेत ४ जना स्वास्थ्यकर्मी सहयोग गरेको थियो। स्वास्थ्यकर्मी अधिकतम मात्रामा संक्रमित भइरहेको अवस्थामा स्वास्थ्य अस्पतालमा बिरामीको उपचारमा स्वास्थ्यकर्मीको अभाव सिर्जना नहोस् र नागरिकले सहजरुपमा स्वास्थ्योपचार सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले आगामी ६ महिनाको लागि ५ जनाको स्वास्थ्य जनशक्ति सहयोग गरिएको नेलम्बोले जनाएको छ।

जनशक्ति उपलब्ध गराउने सम्बन्धमा आइतबार नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। अध्यक्ष देवकोटाले हाल कोभिड १९ ले विश्वनै आक्रान्त भइरहेको अवस्थामा कोभिड–१९ अस्पतालमा स्वास्थ्यकर्मीको जनशक्ति अभाव नहोस र बिरामीको उपचारमा सहयोग गर्नका लागि जनशक्ति सहयोग गरिएको बताए। जनशक्ति सहयोगबापतको सबै खर्च नेलम्बोलेनै गर्ने बताइएको छ।

प्रतिष्ठानका निर्देशक डा खत्रीले नेलम्बो नेपालले कोभिड–१९ सम्बन्धी सुरुआती चरणदेखिनै कोरोनासँग जुध्न र जोखिम न्यूनीकरणका लागि कार्य गर्दै आएकोमा आभार व्यक्त गरे। पछिल्लो केही दिनयता संक्रमण बढ्दै जाँदा प्रतिष्ठानमा पनि स्वास्थ्यकर्मी संक्रमित भएर स्वास्थ्य सेवा प्रवाहमा कठिनाई भएको अवस्थामा मानवीय सेवाको कार्य गर्ने नेलम्बोको सहयोग महत्वपूर्ण रहेको बताए।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।