बगुवाखोलाको बगरमा सम्झौताभन्दा बढी उत्खनन–अनुगमन समिति


     एभरेस्ट आवाज    
     माघ ११ गते २०७८ मा प्रकाशित




म्याग्दी । बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदीको बगरबाट सम्झौताभन्दा बढी परिणाममा उत्खनन भएको जिल्ला अनुगमन समितिले ठहर गरेको छ ।

सरकारको नदीजन्य वस्तु उत्खननसम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन र बेनी नगरपालिकासँग भएको सम्झौताविपरीत निर्माण कम्पनीले एक्साभेटर प्रयोग गरेर तोकिएभन्दा गहिरो खाडल बनाएर उत्खनन गरेको सोमबार अनुगमन गरेको समितिले जनाएको छ ।

एक्साभेटर प्रयोग गरी नदीको धार परिवर्तन गराइ ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन गर्दा तटीय क्षेत्रमा बाढी, कटानको जोखिम बढेको, राजस्व गुमेको, जलचरको बासस्थान र वातावरणमा असर पुगेको समाचार मार्फत माघ ७ गते सार्वजनिक भएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवालको नेतृत्वमा गएको अनुगमन टोलीका सदस्यसचिव शालिग्राम पौडेलले सम्झौताभन्दा गहिरो खाडल बनाएर तोकिएभन्दा बढी परिणाममा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भएको पाइएको जानकारी दिए ।

सम्झौतानुसार तीन हजार ७४२।२० घनमिटर उत्खनन गर्नुपर्नेमा नौ हजार २५१।८८ घनमिटर उत्खनन भएको पौडेलले जानकारी दिए । बेनी नगरपालिकाले सम्झौताको शर्तविपरीत उत्खनन भएको विषयमा जिल्ला अनुगमन समितिलाई जानकारीसहित कारबाहीका लागि अनुरोध गर्दै गत पुस २७ गते पत्राचार गरेको थियो ।

जिसस प्रमुख देवेन्द्र केसीले भने माघ ७ गतेमात्र नगरपालिकाको पत्र प्राप्त भएको र अनुगमनमा गएको बताउनुभयो । अनुगमन टोली पुग्दा उपकरण र मजदुर बगरमा भेटिएनन् । नदीजन्य वस्तुको उत्खननमा एक्साभेटरलगायत ठूला उपकरण प्रयोग गर्न नपाउने कानुन छ ।

अवैध उत्खनन जफत गर्ने कार्यमा सहयोग पु¥याएवापत कूल आम्दानीको १५ प्रतिशत प्रोत्साहन उपलब्ध गराउने निर्णयसहित नगरपालिकाले जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई जानकारी गराएर समन्वय समितिलाई पत्र पठाएको थियो । पत्राचार गरेको १३ दिनपछि जिल्ला सदरमुकाम बेनीबाट करिब चार किलोमिटर नजिक बेनी–दरबाङ सडकको छेउमै रहेको बगरको अनुगमन भएको हो ।

बगुवाखोला, अग्निखेत, डम्मरा, जोगीगाडे, चुत्रेनी, बगुवाखोला, सर्जेनी, दधेखोला र घुमाउनेसहित म्याग्दी नदीका नौ वटा बगरबाट १७ हजार ७६० दशमलव १५ घनमिटर नदीजन्य वस्तु उत्खनन र निकासीका लागि न्यूनतम रु ४३ लाख ८६ हजार ४६ दशमलव ६४ मूल्य राखेर ठेक्का आह्वान गरिएको थियो । रु ४४ लाख कबोलेको बाग्लुङको जुम्ली निर्माण सेवाले पुस २३ गते सम्झौता गरेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार नगरपालिकासँग ठेक्का सम्झौता हुनुभन्दा एक हप्ताअघिदेखि नै उत्खनन थालेका व्यवसायीले नजिकै रहेको जिसी त्रसर उद्योगमा भण्डारण गरेर राखेका छन् । कम्पनीका प्रतिनिधि नीराजन खतिवडाले अलपत्र सडक आयोजनालाई आवश्यक नदीजन्य वस्तुको सहज आपूर्तिका लागि सरोकारवालासँग समन्वय गरेर उपकरणको प्रयोग गरेको दाबी गरे ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।