प्रशासन कार्यालय बाँकेका अत्यावश्यक बाहेकका सेवा आजदेखि बन्द


     एभरेस्ट आवाज    
     माघ ११ गते २०७८ मा प्रकाशित




बाँके । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेका अत्यावश्यक बाहेकका सेवा आजदेखि बन्द गरिएको छ ।

नियमित कार्य सम्पादनको क्रममा कार्यालयका केही कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएको र केही कर्मचारीलाई मिल्दोजुल्दो लक्षण देखा परेपछि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार, कार्यालयमा ३५ जना कर्मचारी छन् । तीमध्ये केहीमा सङ्क्रमण पुष्टि भएको छ । पन्ध्र कर्मचारीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ ।

कार्यालयमा सेवाग्राहीको अत्याधिक भीडभाडसमेत भई कार्यालयबाटै कोभिड–१९ को सङ्क्रमण फैलिन सक्ने जोखिम भई सेवा प्रवाहमा कठिनाई भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गर्नुपरेको उनको भनाइ छ ।

जिप्रकाबाट प्रदान गरिने शान्ति सुरक्षा र मुद्दालगायतका अत्यावश्यक बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सङघ संस्था दर्ता–नवीकरण हातहतियार नवीकरणलगायतका सेवा हाललाई स्थगित गरिएको प्रजिअ खत्रीले जानकारी दिए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।