गण्डकी । गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले आफूले प्राप्त गरेको तलबभत्तालगायतको सरकारी सुविधा बापतको पारिश्रमिक सामाजिक कार्यमा खर्च गरेका छन् ।
विसं २०७४ मा नेपाली कांग्रेस पार्टीका तर्फबाट गोरखा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि सरकारबाट प्राप्त हुने सबै सुविधाबापतको रकम सामाजिक क्षेत्रमा खर्च गरेका हुन्।
प्रदेशसभा सदस्य दवाडीले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी गत वर्ष पुसदेखि हालसम्म प्रदेशसभा सदस्यलाई सरकारबाट तलबभत्ता बापत प्राप्त भएको रु सात लाख ८२ हजार ३५६ र व्यक्तिगत रु पाँच लाख ८१ हजार ४३५ गरी कूल रु १३ लाख ६३ हजार ८०० गोरखाका विभिन्न सङ्घ संस्था तथा व्यक्तिलाई औषधि खरिद र बिरामीको उपचार सहायतामा खर्च गरेको जानकारी दिएका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका प्रवक्ता दवाडीले यसवर्ष विशेषगरी कोभिड नियन्त्रणका लागि गाउँका स्वास्थ्यचौकीमा स्वास्थ्य उपकरण र औषधि खरिद र सहयोगमा सुविधाको रकम खर्च भएको बताए । कोरोनाका समयमा आफैँले औषधि किनेर स्वास्थ्यचौकीलाई वितरण गर्नेदेखि लकडाउनका समयमा वृद्धवृद्धालाई आवश्यकपर्ने औषधि बोकेर घर–घरमा पुगेर वितरण गरेको उनले बताए ।
प्रदेशसभा सदस्य दवाडीले विभिन्न बिरामीको उपचारका लागि अस्पतालमै पुगेरसमेत सहयोग गरेका छन् । प्रदेशसभामा निर्वाचित भएलगत्तै सरकारी सुविधाबापतको रकम निर्वाचन क्षेत्रका जनताको हित र सामाजिक कार्यमा खर्चिने प्रतिबद्धता उनले जानकारी दिए ।। यस वर्ष प्रदेशसभा सदस्य दवाडीले विभिन्न मितिमा गोरखाका विभिन्न सङ्घ संस्था तथा व्यक्ति, स्वास्थ्यचौकी गरी ३१ संस्थालाई सहयोग गरेका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







