एपिएफ आहा ! रारा गोल्डकपको उपाधि नजिक


     एभरेस्ट आवाज    
     माघ १२ गते २०७८ मा प्रकाशित




तस्बिर : सुदर्शन रञ्जित

पोखरा, माघ १२

सशस्त्र प्रहरी बलको एपिएफ क्लव पोखरामा जारी आहा ! रारा गोल्डकपको उपाधि नजिक पुगेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा सहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको मच्छिन्द्र क्लवलाई ३–१ गोल अन्तरले स्तब्ध पार्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो । एफिएफ आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको यो दोश्रो पटक हो । यसअघी १४ वर्ष अघि एफिएफ फाइनलमा पुगेपनि उपाधि जित्न सकेको थिएन । २०६४ सालमा पहिलो पटक फाइनलमा पुगेको एपिएफ त्यसबेला नेपाल पुलिस क्लवसँग २–० ले पराजित भएपछि उपबिजेतामा सिमित भएको थियो ।

लिगमा अपराजित मच्छिन्द्र पोखरामा भने एपिएफ क्लवसँग ३–१ ले स्तब्ध भएसँगै उसको अपराजित यात्रा टुंगिएको छ । यद्वपी लिगको अपराजित यात्रा भने जारी रहनेछ । पहिलो हाफमा १–१ को बराबरी भएपनि दोश्रो हाफमा १० खेलाडीमा सिमित मच्छिन्द्रले थप २ गोल खायो ।

खेलको २३ औं मिनेटमा डिफेन्डर सनिस श्रेष्ठको गोलमा एपिएफले अग्रता लिएको थियो । फिड फिल्डर मणी लामाले मैदानको बायाँ साइडबाट हानेको फ्रिकिक प्रहारलाई उनले हेडर गोल गरे । १–० ले पछि परेपछि मच्छिन्द्रले थप आक्रामक रणनीति अप्नायो । जसको नतिजा स्वरुप खेलको ४० औं मिनेटमा उसले बराबरी गोल फर्कायो । मच्छिन्द्रका लागि विदेशी खेलाडी ओमोलाजा नुरेन करिमले बराबरी गोल गरे । विदेशी खेलाडी मेसुके एटिग्नी ओलुमोको फ्रिकक प्रहारमा उनले सजिलै जाली चुमाए ।

दोश्रो हाफको ६८ औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपिएफलाई अग्रता दिलाए । उनले क्याप्टेन नवीन लामाको क्रस पासमा फष्र्टबार च्यापेर हानेको प्रहार सिधै गोलमा परिणत भयो ।

खेलको ७१ औं मिनेटमा मच्छिन्द्र १० खेलाडीमा सिमित भयो । मच्छिन्द्रका विदेशी खेलाडी करीम दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाएपछि मैदानबाट बाहिरिए । रेफ्री कविन्द्र ब्यञ्जनकारको निर्णयबिरुद्ध आपत्ति जनाउँदै डेढ बल प्रहार गरेपछि उनलाई रेफ्री ब्यञ्जनकारले पहेंलो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।

मच्छिन्द्रमाथि लगातार दबाब दिएको एपिएफले दोश्रो हाफको ईञ्जुरी समयको अन्तिम मिनेटमा तेश्रो गोल गर्दै जित सुनिश्चित ग¥यो । एफिएफका लागि क्याप्टेन नवीन लामाले तेश्रो गोल गरे । आभास लामिछानेले प्रहार गरेको बल बिपक्षी गोलकिपर सूर्य अधिकारीबाट रिबाउण्ड भएको अवस्थामा उनले सहजै गोलपोष्टको दिशा दिए ।

एपिएफले अब उपाधिका लागि मनाङमस्र्याङ्दी क्लव र त्रिभूवन आर्मी क्लवबीचको बिजेतासँग माघ १५ गते शनिबार फाइनल खेल्नेछ । आहा ! रारा गोल्डको दोश्रो तथा अन्तिम सेमीफाइनल खेलमा विहीबार मनाङ र आर्मी आमनेसामने हुनेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।