कोहलपुरको भ्यूटावरलाई देखेर काठमाडौको धरहराको झल्को मेटिने


     एभरेस्ट आवाज    
     माघ १३ गते २०७८ मा प्रकाशित




राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ । कोहलपुरको मौलिक पहिचान झल्कने गरी घण्टाघरसहितको १० तल्ले सुविधा सम्पन्न सो भ्यूटावरको निर्माण अन्तिम चरणमा पुगेको छ ।

लिफ्टसहितको सुविधासम्पन्न सो भ्यूटावर कोहलपुर नगरपालिकाले गौरवको योजनाभित्र पारेर निर्माण गरेको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिए। उनका अनुसार भ्यूटावरको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी भइसकेको छ । अब लिफ्ट जडानसहित रङरोगन र सजावटको काम बाँकी छ ।

नगरप्रमुख रावतले दश तल्लाको उचाइसहित निर्माण भएको भ्यूटावरमा समयको जानकारी गराउने उद्देश्यले घडी राखिने बताउँदै लिफ्टबाट माथि जान सकिने र भ्यूटावरबाट कोहलपुरको चारैतिरको रमणीय दृश्यावलोकन गर्न सकिने जानकारी दिए । रु पाँच करोड ८८ लाखको लागतमा अत्याधुनिक भ्यूटावर निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए ।

भ्यूटावरले कोहलपुर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ । भ्यूटावर चढ्न कोहलपुर नगरपालिकाले शुल्क निर्धारण गर्नुका साथै कफीसपको समेत व्यवस्था हुने प्रमुख प्रशासकीय अधिकृत ढकालको भनाइ छ । नौ रेक्टर स्केलको भूकम्पले पनि क्षति नपुग्ने गरी भ्यूटावर निर्माण भइरहेको कोहलपुर नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इञ्जीनियर बालकृष्ण महतराले जानकारी दिए ।

भ्यूटावर पुग्न एकपटक १५ जना जानसक्ने क्षमताको लिफ्ट बन्ने बताउँदै उनले भ्यूटावरमा दृश्यावलोकनका लागि एकपटकमा ५० जना जान सक्ने क्षमता हुने उल्लेख गरे । विगतमा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण यसको निर्माण कार्य केही प्रभावित भए पनि अहिले उत्साहजनकरूपमा काम भइरहेको उनले बताए ।

यही माघ २५ गतेसम्म कार्यसम्पन्न गर्ने गरी निर्माण कम्पनी जय भवानीले सम्झौता गरेकामा कोभिडका कारण थप छ महिना म्याद थपको माग भएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।