पोखरा, माघ १३
पोखरेली दर्शकको प्रिय टिम मनाङमस्र्याङ्दी क्लव पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा विहीबार भएको दोश्रो तथा अन्तिम सेमीफाइनल खेलमा विभागीय त्रिभूवन आर्मी क्लवलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै मनाङ फाइनलको यात्रा तय गर्न सफल भएको हो । प्रतिष्पर्धात्मक खेलमा पेनाल्टी गुमाउँदा मनाङले जितका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो ।
मनाङले अब उपाधिका लागि सशस्त्र प्रहरी बलको एपिएफ क्लवसँग प्रतिष्पर्धा गर्नुपर्नेछ । सहारा क्लव पोखराको आयोजनामा भइरहेको आहा ! रारा गोल्डकपको फाइनलमा माघ १५ गते शनिबार यी दुई टोली उपाधिका लागि भिड्नेछन् । ६ पटकको उपाधि बिजेता मनाङ आहा ! रारा गोल्डकपको फाइनलमा पुगेको यो बाह्रौं पटक हो । उपाधि विहीन एपिएफ १४ वर्षपछि दोश्रो पटक फाइनलमा पुगेको हो ।
प्रतिष्पर्धात्मक खेलको निर्धारित ९० मिनेटको समय र थपिएको ३० मिनेटको समयमा दुबैतर्फ गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा मनाङका फ्रयांक्लिन कुइट्टे टल्ला, शिव गुरुङ, रुपेश केसी र अफिज ओलावालेले गोल गरेका थिए । मनाङका विश्व अधिकारी भने गोल गर्न चुके । उनले बायाँ साइड च्यापेर हानेको प्रहार पोलमा लागेर फर्किएको थियो ।
आर्मीको तर्फबाट भरत खवास, जर्ज प्रिन्स कार्की र विवेक बस्नेतले गोल गरेका थिए । आर्मीका दीपक गुरुङ र युद्ध शाहीले गोल गर्न सकेनन् । दीपकले बायाँ साइड च्यापेर हानेको प्रहार पोलमा लागेर फर्किएको थियो । युद्धले हानेको प्रहारलाई बिपक्षी गोलकिपर अशोक बरालले विफल पारे । बायाँ साइड च्यापेर हानेको उक्त प्रहारलाई गोलकिपर बरालले पञ्च गरेर रोके ।
निर्धारित समय र थपिएको अतिरिक्त समयमा दुबै टिमले राम्रा अवसर सिर्जना गरेपनि सदूपयोग गर्न सकेनन् । खेलको आठौं मिनेटमै मनाङले गोल गर्ने राम्रो अवसर पाएको थियो । मनाङका फरवार्ड अडेलजा सोमिडेको क्रस बललाई क्लियर गर्न खोज्दा आर्मीका युद्ध शाहीको ह्याण्ड भएपछि रेफ्री श्याम दनुवारले पेनाल्टी दिए । जसमा मनाङका कप्तान विमल राना गोल गर्न असफल भए । उनले गरेको कडा प्रहार क्रसबार माथिबाट बाहिरियो ।
पहिलो हाफमा आक्रामक खेलेको मनाङ दोश्रो हाफदेखि भने रक्षात्मक बन्यो । दोश्रो हाफबाट आक्रामक रणनीति अप्नाएको आर्मीलाई रोक्न मनाङ रक्षात्मक बनेको हो । दोश्रो हाफ र अतिरिक्त समयमा आर्मीका खेलाडीहरुले एकपछि अर्को आक्रमण जारी राखेपनि मनाङको मानव निर्मित रक्षात्मक फलामेबार चिर्न सकेन ।
आर्मीले खेलको २०, ५२, ६७ औं मिनेटमा गोल गर्ने राम्रो अवसर सिर्जना गरेको थियो । तर त्यसलाई सदूपयोग गर्न सकेन । आर्मीले भने तुलनात्मक रुपमा पहिलो हाफमा भन्दा दोश्रो हाफपछि गोल गर्ने अवसर सिर्जना ग¥यो । आर्मीले खेलको १३, ५७, ७८, ८९, ९६, ११३ औं मिनेटमा गोल गर्ने अवसर पाएपनि सदूपयोग गर्न सकेन ।
विहीबारको खेलमा टाइब्रेकरमा पेनाल्टी रोक्ने मनाङका गोलकिपर अशोक बराल म्यान अफ दी म्याच घोषित भए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







