ट्रमा अस्पतालबाट १० वर्षमा १८ हजार शल्यक्रिया


     एभरेस्ट आवाज    
     माघ १४ गते २०७८ मा प्रकाशित




चितवन । एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर भरतपुरमा विगत १० वर्षमा १८ हजार शल्यक्रिया भएका छन् । विसं २०६८ बाट सञ्चालनमा आएको अस्पतालमा हालसम्म हाडजोर्नीका ती शल्यक्रिया भएका हुन् ।

अस्पतालका कार्यकारी अध्यक्ष तथा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा प्रमोद लामिछानेले आफ्नो अध्ययनपछि त्यहाँ अस्पताल खोलेका थिए। अस्पतालले आज १०औँ वर्ष पार गरेको छ । डा लामिछानेले भने, “पहिलो वर्ष हामी नयाँ थियौँ, धेरैले विश्वास गरेनन्,” उहाँले थप्नुभयो, “जब हामीले छिटो र राम्रो सेवा दिन थाल्यौँ अनि बिरामीको चाप बढ्न थाल्यो ।”

अस्पतालमा हाडजोर्नीसँगै चोटपटक, जोर्नी प्रत्यारोपण, दूरबिनबाट जोर्नी शल्यक्रिया, दुर्घटनाबाट भएका ठूला चोटपटकको शल्यक्रिया हुन्छन् । १८ हजारमध्ये करिब १२ हजार शल्यक्रिया डा लामिछाने आफैँले गर्नुभएको हो । उनले भने, “कुनै दिन १४ वटा शल्यक्रियासम्म गरेको तथ्याङ्क हामीसँग छ ।” अहिले शल्यक्रियामा उहाँसँगै डा अनिल भट्टराईसहितको समूह छ ।

हाडजोर्नीका अतिरिक्त अस्पतालमा नसा र अनुहारको हड्डीसम्बन्धी शल्यक्रिया ९मेक्जिलोफेसियल० पनि गरिँदै आएको छ । अस्पतालले गरिब तथा विपन्न बिरामीहरूलाई सहुलियत तथा निःशुल्क उपचार सेवा पनि दिएको जनाएको छ । हालसम्म झन्डै रु एक करोड ५० लाख बराबरको सहुलियत दिइएको लामिछानेको भनाइ छ ।

पुरानो नारायणी यातायात कम्पनी प्रालिका सञ्चालक शङ्कर गिरी जिल्लामा ट्रमा अस्पताल सुरु भएसँगै दुर्घटनाका घाइतेको उपचारमा धेरै सहज भएको बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष रामप्रसाद सुवेदीले चितवन र आसपासका जिल्लामा भएका दुर्घटनाका सामान्य घाइते पनि काठमाडौँ पठाउनुपर्ने बाध्यता अहिले नरहेको बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।