विदेशमा जस्तो दुःख गरे स्वदेशमै कमाउन सकिन्छ


     एभरेस्ट आवाज    
     माघ १६ गते २०७८ मा प्रकाशित




गलकोट। गाउँ छाडेर जापान जाने गलकोटे युवाहरूको जमातका बीच एक युवाले जापानको बसाइ छोट्याएर गाउँ फर्केर बाख्रापालनमा लागेका छन् । गलकोट नगरपालिका–५ भैँसे बाँसबारीका रमेश बस्नेत आठ वर्षको जापान बसाइ टुङ्ग्याएर बाख्रापालन व्यवसाय थालेका हुन् ।

गाउँका युवाको लहैलहैमा जापान पुगेका उनी अहिले पसन गाउँमै फर्केर पेशा व्यवसायमा रमाउन थालेका हुन्। आठ वर्ष अगाडि विद्यार्थी भिसामा जापान पुगेका उनले त्यहाँ विभिन्न दुःखकष्ट सहनुपर्‍यो । विदेशमा निकै दुःख गरेका उनले अहिले गलकोट–९ गल्याङमा व्यावसायिक बाख्रापालन सुरु गरेका छन् ।उनले व्यवस्थित खोर बनाएर अहिले माउ बाख्रा र पाठापाठीको व्यवस्थापन गर्दै छन् ।

व्यवसायी बस्नेतले प्रविधिक शिक्षा हासिल गरे पनि पेशा भने किसानको अँगाल्लेका छन् । पोखरा इञ्जीनियरिङ कलेजबाट डिप्लोमा इञ्जीनियरिङ अध्ययन गरेका उनले पढाइ र पेशा भन्ने विषय फरक भएको बताउँछन्। “पढाइ र पेशा भन्ने विषय हाम्रो जस्तो मुलुकमा नितान्त फरक छ, पढाइअनुसारको जागिरको ग्यारेन्टी छैन, दुःख गरेर पढ्यो, कि त विदेशिनु पर्छ कि अरु कुनै पेशा समात्नु पर्छ”, उनले भने “ म इञ्जीनियर हुँ, यस अनुसारको जागिर पाउन मुस्किल पर्छ ।

उनले गल्याङगाउँमा रु. ६० लाख लगानीबाट बोयरजातका बाख्रापालन व्यवसाय सुरु गरेका छन्। उनको फार्ममा अहिले साना–ठूला गरी ३३ बाख्रा छन् । बाख्रापालनमा भविष्य खोजिरहेका ३२ वर्षीय बस्नेत डिप्लोमा इञ्जीनियरिङ अध्ययन पश्चात विदेश गएका थिए । फार्म स्थापना गरेको ठाउँ बाख्रापालनका लागि अति उपयुक्त छ र घाँसपातको राम्रो व्यवस्था भएको उनको भनाइ छ । उनले भने “ विदेशमा जस्तो दुःख गाउँ गरे यहाँ पनि मनग्य आम्दानी गर्न सकिन्छ ” बताउँछन् । व्यवसायी बस्नेतले आफू सुरुमा साथीहरूको लहलहैमा लागेर जापान गएको जनाउँदै अब आफू गाउँमै उद्यमी बन्ने बताउँछन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।