कैलालीमा ६५ प्रतिशतले लगाए कोरोनाविरुद्ध पूर्ण खोप


     एभरेस्ट आवाज    
     माघ १८ गते २०७८ मा प्रकाशित




कैलाली । कैलालीमा लक्षित उमेर समूहको ६५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ७१ प्रतिशत पुगेको छ ।

स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलालीमा कोरोनाविरुद्धको खोप लगाउने लक्षित उमेर समूह १८ वर्षमाथिको जनसङ्ख्या छ लाख ६४ हजार ६८८ रहेको छ । जसमध्ये चार लाख ७१ हजार ९२८ जनाले खोपको पहिलो मात्रा र चार लाख ३२ हजार जनाले खोपको पूर्ण मात्रा लगाएका जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए ।

कैलाली जिल्लामा सोमबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पनि मोडर्ना खोप लगाउने काम सुरु गरिएको छ । जिल्लामा रहेका एक लाख २० हजार बालबालिकालाई खोप लगाइने भएको छ । बालबालिकालाई खोप लगाउन अहिले एक लाख ११ हजार डोज खोप जिल्लामा आइपुगेको र सोहीअनुसार खोप अभियान सञ्चालन गरिएको प्रमुख धामीले बताए ।

कैलालीको टीकापुर नगरपालिकाले पनि आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका १७ हजार बालबालिकालाई खोप लगाउने भएको छ । १८ गतेदेखि २१ गतेसम्म नगरपालिकाका विभिन्न स्थानमा खोप केन्द्र स्थापना गरी बालबालिकालाई खोप लगाउने तयारी भइरहेको टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका सहसंयोजक कमल रावलले जानकारी दिए ।

टीकापुर नगरपालिकामा १८ वर्षमाथिका ८१ प्रतिशत नागरिकलाई पहिलो मात्रा र ६६ प्रतिशत नागरिकलाई पूर्ण मात्रा खोप लगाइसकेको रावलले बताए । यस्तै कैलालीकै जानकी गाउँपालिकाले पनि आजदेखि २१ गतेसम्म पालिकाभित्र रहेका तीन हजार ९४५ बालबालिकालाई खोप लगाउने तयारी गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले जानकारी दिए ।

कैलालीका सबैजसो पालिकामा यसै साताभित्रै खोप अभियान सञ्चालन हुने भएका छन् । अभिभावक खोप अभियान सञ्चालन हुन थाल्दा खुशी भएका छन् । विद्यालयले बालबालिकालाई सूचना गरी अनिवार्य खोप लगाउन आग्रह गरेका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।