स्वास्थ्यकेन्द्रका सेवा ११ दिनपछि सुचारु


     एभरेस्ट आवाज    
     माघ २० गते २०७८ मा प्रकाशित




बैतडी । स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमण भएपछि बन्द रहेका बैतडीको मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका सबै सेवा आजदेखि सुचारु भएका छन् ।

स्वास्थ्य केन्द्रले चारजना स्वास्थ्यकर्मीमा कोरोना भाइर सङ्क्रमण पुष्टि भएपछि माघ ९ गतेदेखि अत्यावश्यक र आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको थियो । सङ्क्रमित सबै स्वास्थ्यकर्मी सङ्क्रमणमुक्त भएर काममा फर्किएपछि सेवा सुचारु भएको केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले बताए ।

जिल्लाको तल्लोसोराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका सेवा बन्द हुँदा स्थानीयवासीलाई असहज भएको थियो । सेवा सुचारु भएपछि स्थानीयवासीलाई सेवा लिन सहज भएको छ । कोरोना भाइरस सङ्क्रमण तीव्रगतिमा फैलिन थालेकाले स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको छ ।

बैतडीमा अधिकांश सङ्क्रमित होम आइसोलेशनमा बसिरहेकाले समुदायमै कोरोना फैलिसकेको छ । तर स्थानीय तहले कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि प्रयास नगरेको गुनासो आउन थालेको छ । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा हालसम्म कोरोना सङ्क्रमणकै कारण १९ जनाको मृत्यु भइसकेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।