गण्डकी । गएरातिको रिमझिम झरीसँगै खसेको हिउँले गण्डकी प्रदेशका उच्च क्षेत्रका डाँडाकाँडा ढाकिएका छन् । तलतल बस्तीसम्मै हिउँ झरेको छ । केही दिनयता मौसम धुम्मिएर चिसो बढिरहेका बेला हिमपातले झन् जाडो थपेको छ ।
जाडोका कारण देशै भरिको जीनजीवन प्रभावित बनेको छ । बागलुङको निसीखोला,ढोरपाटन, घुम्टे, गाजा, डुँडेलेक, बेलढुङ्गा, घोडाबाँधे, थामानेटालगायत पर्यटकीयस्थल हिउँले सेताम्मे बनेका छन् । घोडाबाँधेदेखि तल बिहँु पोखरासम्मै हिउँ परेको रिजालचोकका होटेल व्यवसायी विष्णु थापाले जानकारी बताएका छन् ।
“रातिदेखि नै हिउँ पर्न थालेको हो, बिहान उठ्दा त खात लाइसकेको थियो”, उनले भने । सोही ठाउँ भएर मध्यपहाडी पुष्पलाल लोकमार्गमा चल्ने सवारीसाधन पनि हिउँ छिचोल्दै गन्तव्यस्थलतर्फ लागिरहेका छन् । चिसोले गर्दा जरुरी नपरी मानिसहरु घरबाहिर निस्केका छैनन् । ताराखोला गाउँपालिकाको केन्द्र भात खाने डाँडासम्मै हिउँ खसेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।
भातखाने डाँडा एक हजार ६०० मिटरको उचाइमा छ । “अहिले पनि हल्का वर्षा र हिमपात भइरहेको छ, चारैतिर सेताम्मे छ”, उनले भने, “डुँडेलेक, सीपलगायत उपल्लो भेग हिउँले छोपेको छ, मौसम सारै चिसो छ ।” गलकोटको घुम्टे लेक, निलुवा, पाण्डवखानीलगायतका ठाउँमा पनि भारी हिमपात भएको छ । देशकै एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्र पनि हिउँले ढाकिएको छ । तीन फिटसम्म बाक्लो हिउँ परेको आरक्ष कार्यालयले जनाएको छ । बागलुङ–पूर्वी रुकुमको सीमा पातीहाल्नेमा हिमपातले सडक यातायात प्रभावित बनेको निसीखोला ५ का स्थानिय थमन घर्तीमगरले बताए । हिउँले अवरोध पु¥याएका ठाउँमा सडक सफाइ गर्न सुरक्षाकर्मी र स्थानीयवासी खटिएका छन् ।
सदरमुकाम बागलुङ बजार वरिपरिका डाँडा र बस्तीमा पनि बाक्लो हिमपात भएको छ । पर्वतको मल्लाज, बनौ लगायतका ठाउँ पनि हिउँले सेताम्मे छन् । हिउँ पर्दा रमाउनेहरु पनि छन् । पर्यटकीयस्थलमा हिउँ खेल्नेको चहलपहल देखिन थालेको छ । सहरियाहरु हिउँ परेको याममा बढी आनन्द लिन्छन् । घरै छाडेर उनीहरु हिउँ खेल्न डाँडातिर उक्लन्छन् । वर्षा र हिमपातले किसानलाई भने फाइदै पु¥याएको कृषि ज्ञान केन्द्रका प्रमुख भानु भट्टराईले बताए ।
“किसानलाई अहिलेको वर्षा अमृत समान हो, अन्न र तरकारी बालीलाई यसले राहत मिलेको छ”, उनले भने, “माटोमा चिस्यान बढ्दा बीउ छिटो उम्रने, बालीको उब्जाउ बढ्ने हुन्छ ।” हिउँदे आलु लगाउने तरखरमा रहेका किसानलाई पनि अहिलेको वर्षाले राहत दिलाएको उनको भनाइ छ । तल्लो भेगमा हिउँ नपरी वर्षा मात्र भएकाले बँेसीको गहुँ र तोरीबारीलाई फाइदा पुगेको प्रमुख भट्टराईले बताए ।
तलैसम्म भारी हिमपात भएको भए तोरी बाली नाश हुन सक्थ्यो । हिउँदे वर्षाले फलफूललाई पनि फाइदा पुग्ने उनको भनाइ छ । मौषम पुर्वानुमान महाशाखाका अनुसार आज राती गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघ गर्जन सहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान गरिएको छ ।
महाशाखाले आज राती देशका धेरै स्थानहरुमा मेघ गर्जन, चट्याङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । साथै गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुनुका साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पनि मौसमी बुलेटिनमा जनाइएको छ ।
चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा सर्तकता अपनाउन पनि अनुरोध गरेको छ । यस्तै महाशाखाका अनुसार भोलि शनिबार पनि गण्डकी प्रदेशसहित प्रदेश नं.१, मधेश प्रदेश र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको जनाएको छ । यस्तै देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना समेत उल्लेख गरेको छ ।
शनिबार राती भने आंशिक बदली हुने र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने सम्भावना रहेको जनाइएको छ । पछिल्लो २४ घण्टामा पोखरामा २३ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । वर्षासंगै चिसो बढेको यहाँको जनजीवन प्रभावित भएको छ । आज पोखराको न्यूनतम तापक्रम ८ दशमलव ६ र अधिकतम तापक्रम १७ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार जुम्लाको न्यूनतम माइनस १ र सबैभन्दा धेरै विराटनगरको २३ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







