काठमाण्डौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहनुका साथै कतिपय स्थानमा हल्का वर्षा समेत भइरहेको छ । अपरान्हपछि उपत्यकाको मौसममा सामान्य सुधार आउने जनाइएको छ ।
प्रतिकूल मौसमकाबीच त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान सञ्चालन भइरहेको विमानस्थलले जनाएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा आइएफआर प्रविधिबाट उडान भइरहेको छ ।
महाशाखाको मौसम बुलेटिन अनुसार आज देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा पनि प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ । भोलि आइतबारदेखि मौसममा क्रमिक रुपमा सुधार आउने महाशाखाले जनाएको छ । आइतबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





