कास्कीमा पनि देउसी भैलो खेल्न रोक


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित




यसपालीको तिहारमा देउसी, भैलो खेल्न नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले नेपालीको महान चाँड तिहारमा विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को जोखिम हुने भन्दै देउसी, भैलो खेल्न रोक लगाएको छ । कास्की जिल्लामापनि कोरोना संक्रमणको जोखिम बढेको र नजिकिदो तिहार, छठजस्ता पर्वमा आवागमन बढ्दा संक्रमणको जोखिम थप जटिल हुने अवस्थालाई मध्यनजर गदै देउसी भैलो खेल्न रोक लगाउनु परेको प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

प्रशासनले तिहार, नेपाल सम्वत, छठलगायतका पर्वहरु जो जहाँ छ त्यहिं मनाउनपनि आग्रह गरेको छ । साथै प्रशासनले जिल्ला भित्र कुनैपनि प्रकारका मेला, महोत्सव आयोजना नगर्न तथा व्यापारिक केन्द्रहरुमा भीडभाड नगर्न अपिल गरेको छ ।

प्रशासनले आतसबाजी, पटाका, झिरझिरे, भुईंचम्पालगायतका विष्फोटकजन्य पदार्थहरुको ओसारपसार, विक्रीवितरण तथा प्रयोग नगर्न, नगराउन आग्रह गरेको छ ।

साथै प्रशासनले कोभिड–१९ को जोखिम कायम रहेकाले भौतिक दुरी कायम गर्न, मास्क र सेनिटाईजरको आवश्यक्ता अनुसार प्रयोग गर्न, नियमित रुपमा साबुन पानीले हात धुनपनि आग्रह गरेको छ ।

सूचनामा उल्लेखित कुराहरुको बेवास्ता गरेर संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानन वमोजिम कार्वाही हुने कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालद्वारा जारी सूचनामा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।