‘प्रतिगमनलाई समूल रुपमा अन्त्य गर्नुपर्छ’


     एभरेस्ट आवाज    
     माघ २२ गते २०७८ मा प्रकाशित




पोखरा, माघ २२

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रतिगमनलाई समूल रुपमा अन्त्य गर्नुपर्ने बताएका छन् । कास्कीको माछापुच्छ«े गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने ‘सार्दीखोला–घाचोक मोटरेवल पुल’को शिलान्यास गर्दै मन्त्री बरालले प्रतिगमनलाई कुनैपनि रुपमा स्पेस दिन नहुने बताएका हुन् । प्रतिगमन रुप फेरेर आउनसक्नेतर्फ सबै सचेत हुनुपर्ने बताउँदै उनले भने,‘प्रतिगमन हिजो एउटा रुपमा थियो, प्रतिगमनको रुप अहिले फेरिएको छ तर फेरीपनि यसले कुनैपनि बेला टाउको उठाउन सक्छ, तर यसलाई कुनैपनि हिसाबले स्पेस दिनु हुँदैन, यसलाई समूल रुपमा अन्त्य गर्नुपर्छ’–उनले भने ।

अर्थमन्त्री बरालले संघीयता कमजोर बनाउने प्रयास भइरहेको भन्दै यसको डटेर सामना गर्न आग्रह गरे । संघीयता खारेज गर्ने कसरतपनि भइरहेकै छन्,‘उनले भने,‘तर यसलाई कुनैपनि हालतमा सफल बनाउनुपर्छ, किनकी संघीयता बलियो भयो भनेमात्र विकास र समृद्धिले फड्को मार्छ ।’ उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायतका राज्य प्रणालीहरु जेगाउन नसके नेपाली जनताले देखेका विकास र समृद्धिका सपना कल्पनामा सिमित हुनसक्ने चेतावनी दिए । उनले पुरानो सत्ता भइराखेको भए वा संघीयता नआएको भए गाउँगाउँमा बाटो, पुल, बिजुली वत्ती, खानेपानी, सिंचाईलगायतका विकासका कामहरु नपुग्ने दाबी गरे । त्यसैले संघीयतालगायतका उपलब्धीहरु हरहालतमा जोगाउनुपर्ने भन्दै त्यसका लागि प्रतिगमनबिरुद्ध लागेका दलहरु मिल्नुपर्नेमा जोड दिए ।

अर्थमन्त्री बरालले अहिलेको प्रणालीमा टेकेर मुलुकलाई समाजवादमा लैजानुपर्ने बताए । समाजवादबारे व्याख्या गर्दै उनले भने,‘समाजवाद भनेको सीपयुक्त जनशक्ति तयार गर्ने, अनि सीप अनुसारको काम र काम अनुसारको दाम (तलब) पाउने ब्यबस्था हो ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।