राष्ट्रिय नागरिक पार्टीद्वारा बिजुलीको पोल वितरण


     एभरेस्ट आवाज    
     माघ २३ गते २०७८ मा प्रकाशित




पोखरा ।
पोखरा महानगरपालिका भित्र रहेर पनि राज्यको ध्यान नपुगेको वस्तीमा वैकल्पिक राजनैतिक शक्तिको रुपमा अगाडि वढिरहेको राष्ट्रिय नागरिक पार्टीले विजुलीका पोल वितरण गरेको छ । शनिवार पार्टीका केन्द्रिय सहमहामन्त्री सागर कार्कीले पार्टीको तर्फबाट स्थानिय छविलाल सुनारलाई सडक बत्तीको लागि फलामका ७ पोल वितरण गरेको हो ।

करिब २० हजार लागतको उक्त कार्यको लागि पार्टीका केन्द्रिय अध्यक्ष शुक्रबहादुर गुरुङले पाँच हजार, केन्द्रिय उपाध्यक्ष बुद्धिबहादुर गुरुङ, सहमहामन्त्री सागर कार्की, केन्द्रिय सदस्य कृष्ण रानाभाट, केन्द्रिय सदस्य लक्ष्मण सुनार, केन्द्रिय सदस्य महेन्द्र परियार तथा पार्टीका सक्रिय सदस्य कृष्ण थापामगरले जनही २÷२ हजार आर्थिक सहयोग गरेका थिए ।

उनले पोल हस्तान्तरण गर्दै राष्ट्रिय नागरिक पार्टीले निम्न वर्गिय, उत्पिडनमा परेका, राज्यको पहुँच भन्दा टाढा रहेको वस्तीको सडकमा पार्टीले विजुलीका पोल हस्तान्तरण गर्न पाउँदा खुशी लागेको तर राज्यले नागरिकको पिरमर्कामा आँखा चिम्लेको देख्दा दुख लागेको वताए ।

सो अवसरमा पार्टीका केन्द्रिय सदस्यहरु कृष्ण रानाभाट र लक्ष्मण सुनारले पार्टीले राजनिति मात्रै गर्ने नभई सामाजिक काम पनि गर्दै आएको धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमका संयोजक छविलाल सुनारले स्थानियको माग अनुसार राष्ट्रिय नागरिक पार्टीले सडक बत्तीको लागि पोल सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै वडा कार्यालयमा पटकपटक माग गर्दा समेत वास्ता नगरेकोमा दुख व्यक्त गरेका थिए ।

पोखरा महानगरपालिका वडा नं. २१ को फुस्रेखोेला मट्टिखान ग्रामिण सडकबाट पाँच सय मिटर भित्र रहेको एकहाते, गहतरी दलित वस्तीमा ४० घर रहेका छन् । त्यहाँका वासिन्दा साँझको समयमा बत्तिको अभावले त्रसित हुनु पर्ने तथा विहान पढ्न जाने विद्यार्थीहरुका लागि समेत अत्यन्तै समस्या हुने गरेको स्थानियहरुले वताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।