जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माणको काम सुरु


     एभरेस्ट आवाज    
     माघ २६ गते २०७८ मा प्रकाशित




बागलुङ । जग्गा अभावका कारण पाँच वर्षदेखि थालनी हुन नसकेको बागलुङको जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माणको काम सुरु भएको छ । पालिका मुकाम कुश्मीशेरा बजारका स्थानीयवासीले भवन निर्माणका लागि निःशुल्क जग्गा उपलव्ध गराएपछि भवन निर्माणको प्रक्रिया अघि बढेको हो । तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी भवन निर्माणको काम सुरु भएको इञ्जिनीयर विवेक सापकोटाले बताए ।

स्थानीय तह गठनपछि भवन निर्माणका लागि योजना बनाएको नगरपालिकाले अहिलेका जनप्रतिनिधिको कार्यकाल सकिने बेला भवनको जग बसाल्ने भएको हो । भवन निर्माणको जिम्मेबारी पाएको रविना, प्राकृतिक जुगल जेभीले तत्कालै काम थाल्ने बताएको छ । रु आठ करोड १७ लाख ६५ हजार ८२ मा निर्माण हुने भवनका लागि नेपाल सरकार र नगरपालिकाले ५०÷५० प्रतिशत साझेदारी गर्नेछन् ।

विसं २०८१ असार मसान्तसम्म भवन निर्माण गर्ने गरी माघ २१ गते ठेक्का सम्झौता भइसकेको सापकोटाले जानकारी दिए । चार तलाको सुविधा सम्पन्न भवनमा ४२ वटा प्रशासनीक कोठा तयार हुनेछन् । जिल्लामा सरकारी भवनमा लिफ्टको सुविधा भएको यो प्रशानिक भवन दोस्रो हुनेछ । यसअघि धौलागिरीमानै पहिलो पटक धौलागिरि अस्पताल बागलुङमा लिफ्ट जडान भएको थियो । जनप्रतिनिधि आएपछि पहिलो वर्षदेखिनै जग्गा प्राप्तिका लागि प्रयास भए पनि अघिल्लो वर्षमात्रै नगरपालिकाले जग्गा प्राप्त गरेको थियो ।

नेपाल सरकारले जग्गाको प्लटिङमा लगाएको रोकको मारमा परेको नगरपालिकाले रोक्का फुकुवा भएपछि जग्गा आफ्नो नाममा बनाएको थियो । ११ जना स्थानीयवासीको १८ रोपनी जग्गा एकीकृत गरेर नगरपालिकाले पाँच रोपनी जग्गा प्राप्त गरेको थियो । बाँकी जग्गा प्लटिङ गरेर आवश्यक पूर्वाधार निर्माणपछि सम्बन्धित उपभोक्तालाई नगरपालिकाले फिर्ता दिने छ ।

कुश्मिसेरा बजारको दक्षिणतर्फ बन्ने भवन जैमिनी नगरपालिकालाई फेरो हालेका ठेउले खोला र टिमुर खोलाको दोभानमा बन्ने छ । कर्मचारीका लागि आवासीय सुविधासमेत भवन परिसरमै हुनेछ । भवन निर्माण भएपछि नगरपालिकाको सेवा प्रवाह सहज हुने नगरप्रमुख इन्द्रराज पौडेलले बताए। आफ्नै भवन नहुँदा नगरपालिकाले महँगो भाडा तिरेर व्यक्तिको घरबाट प्रशासनीक काम गर्दै आएको छ ।

नगर प्रमुख, उपप्रमुख र कर्मचारीका लागि आवासको सुविधा समेत गर्दा मासिक एक लाख ५० हजार बढी भाडामा खर्च हुने गरेको छ । सभाहलसमेत निर्माण हुने भएकाले नगरसभा, बैठक लगायतका कार्यक्रम गर्न भाडाको हल खोज्नुपर्ने बाध्यता अन्त्य हुने पौडेलले बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।