शहीद स्मारक ए डिभिजन लिगः च्यासललाई पुलिसले हरायो


     एभरेस्ट आवाज    
     माघ २६ गते २०७८ मा प्रकाशित




काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटवल प्रतियोगितामा रविकुमार पासवानको दुई गोलको मद्दतमा नेपाल पुलिस क्लबले बुधबार च्यासल युथ क्लबलाई २-१ ले पराजित गरि दोस्रो जित हात पारेको छ ।

दशरथ रंगशालामा भएको खेलमा रविले दुवै हाफमा एक(एक गोल गरे । च्यासलका लागि विदेशी खेलाडी माउसा अबागानाले एक गोल फर्काए । च्यासलको १९ खेलाडीमा कोभिड-१९ संक्रमण देखिएपछि गत माघ २ गते तय भएको खेल स्थगित भएको थियो । सोही खेल बुधबार खेलाइएको हो । खेलको ३७ औं मिनेटमा निरकुमार राईको पासमा रविकुमार पासवानले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

५३ औं मिनेटमा पेनाल्टीमार्फत च्यासलले बराबरी गोल फर्काएको थियो । पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्तौलालाई फाउल गरेपछि च्यासलले पेनाल्टी पाएको थियो र त्यसमा माउसा अबागानाले गोल गरेका हुन् । ७० औं मिनेट रवि पासवानले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले पुनस् अग्रता लियो ।

त्यसपछि पनि च्यासलले खेल बराबरी गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन । च्यासलका अभिषेक लिम्बु दुई अवसरमा चुके । उनको एउटा प्रहार बारमा लागेको थियो । यस्तै वैकल्पिक खेलाडी कर्ण लिम्बुले पनि गोलको एउटा अवसर गुमाए । लिगमा दोस्रो जितपछि ९ खेलबाट १० अंक जोडेर पुलिस अंक तालिकामा एक स्थान सुधार गर्दै दशौं स्थानमा उक्लेको छ ।

च्यासल भने यो हारपछि रेलिगेसनको दबावमा परेको छ । उसले ९ खेलबाट ५ अंक मात्र जोड्दै १३ औं स्थानमा छ । बुधबारको खेलपछि लिगका नवौँ चरणका खेलहरु सकिएका छन् । आगामी शुक्रबारदेखि दशौँ चरणका खेलहरु हुनेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।