साझेदारी लगानीमा वडा भवन निर्माण


     एभरेस्ट आवाज    
     माघ २९ गते २०७८ मा प्रकाशित




तनहुँ । तनहुँको देवघाट गाउँपालिका र जिल्ला समन्वय समितिको साझेदारीमा देवघाट–२ को वडा भवन निर्माण गरिएको छ । जिससको रु ४० लाख र गाउँपालिकाको रु ४० लाख गरी कूल रु ८० लाख लागतमा वडा भवन निर्माण गरिएको हो ।

स्थानीय रामचन्द्र थापाले करिब रु आठ लाख मूल्य बराबरको चार रोपनी जग्गा दान गरेपछि भवन निर्माण गरिएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी दिए ।

स्थानीय समाजसेवी जमिनदार थापाले वडा भवन निर्माणका लागि जग्गा दान गरेपछि भवन निर्माणपश्चात सेवाग्राहीलाई सेवा प्रवाहमा सहज भएको उनले बताए । वडा कार्यालयसम्म विद्युत् सेवा नपुगेकाले सोलार जडान गरी कार्यालयको कामकाज सञ्चालन गर्दै आइएको छ ।उनले भने, “विद्युत्को पहुँच वडा कार्यालयसम्म पुग्न करिब एक किलोमिटर दूरी बाँकी रहेको छ ।

” साविकको कोटा गाविसका वडा नं ४, ५, ६ र ७ साविकको बैदी गाविसको वडा नं ४, ५, ६, ७, ८, ९ वडा गरी १० वटा दुर्गम वडा गाँभेर हालको देवघाट–२ नं वडा बनाइएको छ । गाउँपालिकाका वडामध्ये २ नं वडा दुर्गममा पर्दछ । वडा कार्यालयसम्म सडकको पहुँच पुगे पनि विद्युत् पहुँच पुग्न करिब एक किलोमिटर दूरी छ ।

हाल वडाको कामकाज सोलारपावर जडान गरी सञ्चालन गर्दै आइएको वडाध्यक्ष आलेले बताए । वडाका सबै क्षेत्रका बासिन्दालाई मध्यबिन्दु पर्ने गरी वडा कार्यालय स्थापना गरिए पनि भौगोलिक विकटताका कारण सेवाग्राहीले सेवा लिन कठिनाइ भोग्नुपरेको छ । सबै क्षेत्रमा सडक सञ्जाल नपुगेकाले कम्तीमा चार घण्टादेखि साढे पाँच घण्टासम्म हिँडेर वडामा आएर सेवा लिनुपर्ने दयनीय अवस्था छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।