सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणले हेर्नुपर्छःप्रवक्ता डा महत


     एभरेस्ट आवाज    
     माघ २९ गते २०७८ मा प्रकाशित




चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन । आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी०लाई हेर्ने दृष्टिकोण अन्य देशहरूलाई जस्तै हुनुपर्ने बताए ।

अन्य देशको सहयोगलाई हेर्ने दृष्टिकोण र एमसिसीलाई हेर्ने दृष्टिकोण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा असन्तुलन आउने उनको भनाइ छ । उनले भने “देशैपिच्छे अलग मापदण्डका आधारमा सहायता स्वीकार गर्ने हो भने परराष्ट्र सम्बन्ध असन्तुलन हुन्छ र देशलाई खतरा हुन्छ ।” एमसिसीका विषयमा अन्योल खडा नगरी संसद्बाट पास गर्नुपर्ने उनको तर्क छ । उनले भने, “एमसिसीमा अहिलेसम्म सरकारमा सहभागी दलहरूको सहभागिता रहेको छ । नेपालको स्वार्थका आधारमा आएको हो, बखेडा झिक्नु गलत प्रवृत्ति हो ।”

नेता महतले सरकारले ल्याएका प्रस्ताव संसद्मा टेबुल गराउनु सभामुखको दायित्व रहेको बताए । फरक प्रसङ्गमा बोल्दै उनले कांग्रेस अधिवेशन रोकिएका १६ जिल्लामा फागुन १३ गते अधिवेशन हुने बताए । पहिला कोभिडका कारण रोकिएका अधिवेशन अब भने तोकिएको मितिमै हुने बताए ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा उहाँले यस विषयमा अहिले बहस गर्ने समय नभएको बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।