सत्ता गठबन्धनका पाँच दलको बैठक निष्कर्ष विहिन, भोलि फेरि बैठक बस्ने


     एभरेस्ट आवाज    
     फागुन ५ गते २०७८ मा प्रकाशित




फाइल तस्विर

काठमाण्डौं । सत्ता गठबन्धनका पाँच दलको बैठक निष्कर्ष विहिन टुङ्गएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै ३ घण्टा चलेको बैठकमा नेताहरुले एमसीसीका विषयमा आफ्नो अडान कायमै राखेका कारण निष्कर्षमा पुग्न नसकेको माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

‘आज झन्डै तीन घण्टा चलेको बैठकमा नेताहरूको एमसीसीका बारेमा आ–आफ्ना धारणा राख्नुभएको छ । बैठकमा कुनै निष्कर्ष ननिस्किए पनि गठबन्धन बचाउनुपर्छ भन्नेमा सबैले जोड दिनुभएको छ’, मल्लले भने ।

गठबन्धनका शीर्ष नेताहरूको अर्काे बैठक भोलि शुक्रवार बिहान ९ बजेका लागि बोलाइएको मल्लले बताए ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेताहरू सहभागी थिए ।

आजको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा पेस गर्ने विषय टुङ्गो लगाउने अनुमान गरिएको थियो ।

प्रधानमन्त्री देउवा एमसीसी तत्कालै संसदमा पेस गर्ने पक्षमा छन्। तर माओवादी र एकीकृत समाजवादीले अहिले एमसीसी पेस गर्न नहुने बताएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।