राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै


     एभरेस्ट आवाज    
     फागुन ७ गते २०७८ मा प्रकाशित




आज फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस।

राष्ट्रिय प्रजातन्त्र दिवस आज (शनिबार) देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

विसं २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहानियाँ राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएकाले सोही दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो।

राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक भव्यताका साथ यो दिवस मनाउने गरेको छ।

यस अवसरमा बागमती र कर्णाली प्रदेशले ३ दिनसम्म प्रजातन्त्र दिवस मनाउने घोषणा समेत गरेको छ। बागमती प्रदेश सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने गरेको निर्णय गरेको छ। ६ गते सार्वजनिक स्थलमा सरसफाइ, ७ गते साइकल ¥याली र सभा तथा ८ गते नेपालको राष्ट्रिय झन्डोत्तोलन गर्ने कार्यक्रमको निर्णय छ। ३ दि न नै प्रदेशभर दीपावली गर्ने प्रदेश सरकारले निर्णय गरेको छ।

त्यस्तै, कर्णाली प्रदेश सरकारले पनि ३ दिनसम्म दिपावली गरेर राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने भएको छ। त्यसका लागि विभिन्न कार्यक्रमहरुको तय गरिएको छ। प्रदेश सरकारले ३ दिनसम्म हरेक साँझ प्रदेशस्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवम् सामुदायिक संघ–संस्था, शैक्षिक प्रतिष्ठान तथा निकायमा दिपावली गर्ने निर्णय गरेको छ। यस्तै प्रदेशबासीहरुका घर–घरमा पनि दिवापली गरेर प्रजातन्त्र दिवसलाई भव्य बनाउन प्रदेश सरकारले अनुरोध गरेको छ।

यस अवसरमा विसं २००८ पछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिने परम्परा बनेको छ। दिवसका अवसरमा अन्य संघ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरुपमा दिवस मनाउन आह्वान गरेको छ । तीन दिनसम्म साँझ दीपावली पनि गरिनेछ । प्रजातन्त्र दिवसलाई विसं २०४६, २०६३ र २०६५ का परिवर्तनको जगका रुपमा सम्झना गरी विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको छ । प्रजातन्त्र दिवसकै जगमा करिब ७० वर्षपछि संविधानसभाबाट संविधान जारी हुन सफल भएको थियो ।

राष्ट्रपतिद्वारा ५०१ कैदीको कैद मिनाहा

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा ५ सय १ जना कैदीको कैद मिनाहा र १२ जना व्यक्तिहरुलाई सजाय माफी गरिएको छ। राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै मुलुकी अपारध संहिता २०७४को दफा ४५को उपदफा(४) तथा बालबालिका सम्बन्धी ऐन, २०७५को दफा ३६को उपदफा(४) र फौजदारी कसूर नियमावली २०७६को नियम ३ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शनिबार देखि लागू हुने गरी ५०१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद र मुलुकी फौजदारी कार्यविधि संहित २०७४को दफा १५९ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा १२ जना व्यक्तिहरुलाई फैसलमा बमोजिम सजाय माफी भएको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ।

निर्वाचन दिवस पनि

आज फागुन ७ गते निर्वाचन दिवस पनि। नेपालमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै आयोगले विसं २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।