केन्याली धावक स्टेफेनले जिते सफल पोखरा म्याराथन


     एभरेस्ट आवाज    
     फागुन ७ गते २०७८ मा प्रकाशित




केन्याली धावक स्टेफेन कोस्गेईले १६ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका छन्।

पोखरा रंगशालामा शनिबार निर्धारित दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पूरा गर्दै स्टेफेनले उपाधि जितेका हुन्।
उपाधिसँगै स्टेफेनले ४ लाख रुपैयाँ प्राप्त गरे।

केन्याकै सिमिओन किप्लागेटले दोस्रो स्थान हासिल गरे। उनले २ घण्टा २१ मिनेट ३ सेकेण्डको समयमा निर्धारित दूरी पार गरे। सिमिओनले २ लाख प्राप्त गरे ।

नेपाल आर्मी क्लबका मोहन देव जोशी तेस्रो बने। उनले १ लाख जिते। जोशीले २ घण्टा ३३ मिनेट २४ सेकेण्डको समयमा निर्धारित दूरी पार गरे।

पुलिसकी राजपुराले जितिन हाफ म्याराथन

महिला हाफ म्याराथनको उपाधि नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जितेकी छन्।

राजपुराले निर्धारित दुरी १ घण्टा २१ मिनेट २६ सेकेण्डमा पूरा गरिन्।

राजपुराले लगातार दोस्रो पटक उपाधि जितेकी हुन्। उपाधिसँगै राजपुराले नगद १ लाख प्राप्त गरिन्।

एपीएफकी बिन्द्रा श्रेष्ठले १ घण्टा २७ मिनेट ४१ सेकेण्डको समय निकाल्दै दोस्रो बनिन्। बिन्द्राले ७५ हजार पुरस्कार जितिन्।
जुम्लाकी राममाया बुढाले १ घण्टा ३० मिनेट ४८ सेकेण्डको समयसहित तेस्रो बनिन्। राममायाले ५० हजार हात पारिन्।

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको म्याराथनमा स्वदेशी तथा विदेशी गरि कुल २०१ जना धावकहरुले सहभागिता जनाएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।