ओलीको चेतावनी : चुनाव आओस् न, गठबन्धनलाई ७ दिन नउठ्ने गरी पछार्छौं


     एभरेस्ट आवाज    
     फागुन १३ गते २०७८ मा प्रकाशित




पोखरा, फागुन १३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा पाँचदलीय गठबन्धनलाई उठ्न नसक्ने गरी पछार्ने उद्घोष गरेका छन् । नेकपा एमालेको गण्डकी प्रदेश स्तरिय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलााई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले भने, ‘बैशाख ३० गतेमात्र आओस् न । एक झट्का हान्दा ७ दिन नउठ्ने गरी पछार्छौं ।’

एमाले अध्यक्ष ओलीले गठबन्धन नटुटेपनि आगामी चुनावमा एमालेले जित्ने दाबी गरे । एक्लाएक्लै चुनाव लड्ने त गठबन्धनमा आबद्ध दलहरुमा हुत्तीसमेत नभएको टिप्पणी गर्दै उनले भने,‘यो गठबन्धन टुट्दैन, टुट्नै हुँदैन, टुट्यो भने धुलोपीठो हुन्छ ।’ आफूहरुपनि एक्लाएक्लै बोलाएर किस्ता किस्तामा लड्ने पक्षमा नभएको ओलीको भनाई थियो । हामी लड्न आउनेलाई वान बाई वान आउ भन्दैनौं, दुबै हातको ईशाराले देखाउँदै उनले भने, ‘एकैपटक आउ भन्छौं, सबैलाई एकमुष्ठ पार्छौं र एकैपटक पछार्छौं ।’

अध्यक्ष ओलीले गठबन्धनमा आबद्ध दलहरुले चुनावमा हारिन्छ भन्ने डरले चुनाव सार्ने षडयन्त्र गरिरहेको आरोप लगाए । ‘चुनाव हुन नदिन प्रधानन्यायाधीसमाथि महाअभियोग लगाएर मुद्धा दर्ता गरिसकेका छन्’–उनले भने । एमालेप्रति जनलहर आएको बताउँदै उनले आगामी चुनावमा एमालेले नजित्ने ठाउँ र कारण नभएको बताए । जनतामा लहर आएपनि नेताहरु ठास्सठुस्स पर्दा केहि निराशा छाएको बताउँदै उनले थपे,‘हामी स–साना कुरामा अल्झिनु देशका लागि दुर्भाग्य हुन्छ, कम्युनिष्ट आन्दोलनका लागि दुर्भाग्य हुन्छ । त्यसैले हामी त्यस्तोमा अल्झिनु हुँदैन ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।