वडाध्यक्षको सवारी दुर्घटनामा निधनपछि स्थानियद्वारा राजमार्ग अवरुद्ध


     एभरेस्ट आवाज    
     फागुन १४ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

सुर्खेत । मोटरसाइकल दुर्घटनामा घाइते हुनुभएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको उपचारका क्रममा निधन भएपछि आक्रोशित स्थनीयवासीले आज बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन् ।

वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौँको न्यूरो अस्पतालमा निधन भएको हो । दोषीलाई कारवाही हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र हालसम्मको उपचार खर्च दिनुपर्नेलगायत माग राख्दै उनीहरुले आज बिहानैदेखि रत्नराजमार्गस्थित छिन्चु बजार र सडक अवरुद्ध पारेका हुन् । सडक अवरोधका कारण यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

नेकपा (माओवादी केन्द्र)बाट जननिर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो । रत्नराजमार्गअन्तर्गत भेरीगङ्गा नगरपालिका–१२ छिन्चु बजार नजिकै नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे६प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा वडाध्यक्ष कार्की गम्भीर घाइते भएका थिए ।

उनी सुर्खेतका निर्वाचित वडाध्यक्षमध्ये सबैभन्दा कान्छा वडाध्यक्ष हुन् । कार्की कुशल र सक्षम नेतृत्वका रुपमा आफ्नो पहिचान स्थापित गर्दै आएका थिए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।