फाइल तस्विर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले
काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मुलुकको ललितकला र संस्कृतिको संरक्षण एवम् विकासका लागि सरकारले विशेष प्राथमिकता दिएको बताएका छन् ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १२औँ प्राज्ञसभा को आज उद्घाटन गर्दै उनले ललितकलाको विकास, प्रवद्र्धन गर्न मन्त्रालयले योजनाबद्ध कार्यक्रम ल्याउने विश्वास दिलाएका हुन् । मन्त्री आलेले भिन्न–भिन्न चार प्रज्ञा प्रतिष्ठानलाई एकीकृत गरेर, नाट््य, कला, संस्कृतिको प्रवद्र्धनमा ध्यान केन्द्रित गरिने बताए ।
कार्यक्रममा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा सुनिलबाबु श्रेष्ठले राष्ट्रको मौलिक पहिचान प्रवद्र्धनमा कला र संस्कृतिको महत्वपूर्ण भूमिका रहेको भन्दै कलालाई मौलिकताको साथसाथै यसलाई व्यावसायिक रुपमा पनि अघि बढाउनसके अर्थतन्त्रमा समेत टेवा पुग्नसक्ने बताए ।
उनले विज्ञान र कलालाईसँगसँगै लैजाने गरी विज्ञान प्रतिष्ठानले योजनाबद्ध कार्यक्रम अघि सारेको जानकारी दिए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकूलपति के–के कर्माचार्यले प्राज्ञ सभाले प्रष्ठिानको आगामी वर्षको रणनीति तय गर्ने जानकारी दिए । यस्तै सभाले प्रतिष्ठानको कार्यविधि, आगामी वर्षको अनुमानित प्रस्तावित बजेट कार्यक्रमलाई पारित गर्नेछ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोटले कला, संस्कृतिको विकासका लागि सबै नाट्य प्रतिष्ठानहरुले समन्वयका साथ योजनाबद्ध कार्यक्रम ल्याउनुपर्ने खाँचो औंल्याए। प्राज्ञ गङ्गा सुवेदीले मुलुकको कुना कन्दरामा लुकेका कला र संस्कृतिलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम अघि बढाउन जरुरी भएको उल्लेख गरे ।
यसैबीच प्रतिष्ठानले ललितकलामा आवद्ध कलाकारलाई परिचयपत्र वितरणको प्रारम्भ गरेको छ । प्रतिष्ठानका उपकूलपति कर्माचार्यले परिचयपत्र लिएर वितरण शुभारम्भको घोषणा गरे । प्रतिष्ठानका पदाधिकारी तथा परिषद् सदस्यलाई वितरण गरिएको यो परिचयपत्र ललितकलामा आवद्ध देशभरका कलाकारलाई प्रदान गरिनेछ । यस्तो परिचयपत्र लिन सम्बन्धित कलाकारले निवेदन दिनुपर्नेछ । विभिन्न चार ‘क्याटोगोरी’ मा प्रतिष्ठित, विशिष्ठ, वरिष्ठ र कलाकार परिचयपत्र उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







