एक हप्तादेखि हिमपातले बन्द सडकखण्ड सञ्चालनमा


     एभरेस्ट आवाज    
     फागुन १६ गते २०७८ मा प्रकाशित




मनाङ । भारी हिमपातका कारण एक हप्तादेखि बन्द रहेको मनाङको भित्री सडकखण्डमा आवातजावात सञ्चालन भएको छ । भारी हिमपातपछि पुरिएको सडकको हिउँ पन्छाएपछि सवारीसाधन पुनः सञ्चालनमा आएकोे छ ।

गत फागुन ८ गते आइतबार बिहानदेखि लगातारको हिमपातले जिल्लाको अधिकांश भेगमा बाक्लो हिउँ जमेको थियो । हिउँका कारण सडक अवरुद्ध भएपछि छ दिन लगाएर जिल्लाका सडकका हिउँ हटाएर सवारी आवागमन सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

उनका अनुसार मनाङ ङिस्याङ गाउँपालिकाको तलेखुदेखि खाङ्सारसम्म हिउँ पन्छाइएको छ । जिल्लाका केही स्थानीयले जेसिबी र जनप्रतिनिधि, प्रहरीको सहयोगमा सडकमा जमेको हिउँ पन्छाएपछि यातायात सञ्चालनमा आएको प्रजिअ आचार्यले बताए । हिउँका कारण दैनिक उपभोग्यलगायत खाद्यान्न तथा मालसामान ढुवानीमा समस्या हुँदै आएको थियो ।

हिउँ पन्छाउन गाउँपालिकाका जनप्रतिनिधि आफँै मैदानमा खट्नुभएको आचार्यले बताए । हिमपातले हिमाली क्षेत्रका किसानमा उत्साह छाएको छ । तर सडकमा लामो समयसम्म हिउँ रहँदा स्थानीयले सास्ती खेप्नु परेको उनीहरु बताउँछन् ।

यस्तै हिउँ पन्छाएलगत्तै प्रमुख जिल्ला अधिकारी आचार्यको नेतृत्वमा जिल्लावासीको अवस्थासमेत विभिन्न स्थानमा गएर अनुगमन गरिएको छ । चिसोमा जनजीवनको अवस्थाको निरीक्षण गर्दा अतिविपन्न परिवारलाई न्यानो कपडासमेत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।