तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा कृत्रिम हिमाल निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको रु २० लाख लगानीमा कृत्रिम हिमाल निर्माण गरिएको हो ।
त्यहाँ रहेको १०८ धाराको माथिपट्टि निर्माण गरिएको कृत्रिम हिमालको निर्माणसँगै उक्त ठाउँ आकर्षक देखिएको र त्यहाँ आन्तरिक पर्यटकको चहलपहल सुरु भएको धामका उपाध्यक्ष अर्जुन लम्सालले जानकारी बताए । अन्नपूर्ण हिमश्रृङ्खलाको झल्को दिने गरी हिमालय आकृति निर्माण गरिएको छ । मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम मिलेनियम पथको सुरुआती बिन्दु हो ।
सन् २००० देखि सुरु भएको तनहुँ र स्याङ्जालाई जोड्ने ७२ किलोमिटर दूरीको मिलेनियम पथ त्यहीँबाट सुरु हुन्छ । च्यवनधामको नजिकै सेती नदीमा बग्ने पानीको वहावले कुँदेर बनाएको प्राकृतिक ढुङ्गे बगैँचाले जोकोहीलाई लोभ्याउन सक्छ । च्यवनधामलाई तनुहँकै उत्कृष्ट गन्तव्य बनाउन स्थानीवासीसँग स्थानीय सरकारले हातेमालो गरिरहेको वडाध्यक्ष जगतबहादुर गुरुङले बताए ।
मिनी मुक्तिनाथको अवधारणा भएको हुँदा पूर्वाधार निर्माणमा नगरले वर्षेनी बजेट विनियोजन गर्दैआएको छ । पृथ्वी राजमार्ग नजिकै सेती नदी रहेको छ । गाछेपानीस्थित सेती नदी ढुङ्गाले भरिएका किनारको स्वरुप एक दशकमा फेरिएको छ । दिउँसै डरलाग्दो त्यो नदी छेउको थुम्को पवित्र धाम बनेको छ । झकिझकाउ मन्दिर ठड्याइएको छ । धार्मिक पर्यटकको गतिलो गन्तव्य बनेको छ ।
एक्लै हिँड्न पनि डरलाग्ने कुरुप साघुँरो ठाउँ फेरिएर यति सुन्दर र फराकिलो पर्यटकीय गन्तव्य बन्ला भन्ने गाछेपानीवासीले सोचेका पनि थिएनन् । त्यही किनारको स्वरूप फेरिएको छ । गाछेपानीवासीको एकताले यस ठाउँलाई तनहुँकै चर्चित धार्मिकस्थल बनाउन सफल भएका छन् । नदी छेउको थुम्को मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम ९मिनी मुक्तिनाथ०को नामले कहलिएको छ ।
यस ठाउँ भगवान् शिवजीप्रति आस्थावान् भक्तजनको आकर्षणको केन्द्र बनेको छ । हिन्दू धर्मको मात्र होइन, च्यवनधाम बौद्ध धर्मलम्बीको पनि आस्थाको थलो हो । विसं २०६५ मा नदी किनारमा रहेको यो जग्गा पहुँचवालाले कसैले हडप्न नखोजेको भए यो परिवर्तन सम्भव थिएन । त्यहाँको २३ रोपनी जग्गा हडप्न खोजिएको भए पनि स्थानीयवासीले जग्गाको संरक्षण गरेका थिए ।
जग्गा संरक्षणको दुई वर्षपछि २०६७ सालमा काठमाडौँ बस्दै आउनुभएका ऋषिगुरु श्रीराम पौडेलसँग स्थानीयवासीको सम्पर्क भयो । पौडेलले सेतीको तिर तपोभूमि भएको बताए। त्यसो त शुक्लागण्डकी क्षेत्र च्यवन ऋषिको तपोभूमिको रुपमा पनि परिचित थियो । त्यही वर्षको कात्तिकमा मन्दिर सहितका पूर्वाधार निर्माणका लागि लालप्रसाद गर्तौलाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको थियो ।
माघमा यो क्षेत्रलाई श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम नामकरण गरियो । समिति मन्दिर बनाउन कस्सिए पनि आर्थिक अभाव आइलाग्यो । देशभर आर्थिक सङ्कलनका लागि महायज्ञ गर्ने परम्परा चलेको बेला त्यसैलाई अनुशरण गर्ने उपाय समितिले निकालेको थियो । पूर्वाधार निर्माणमा आर्थिक सङ्कलन गर्ने उद्देश्यले सोही वर्षको चैत १० देखि १७ गतेसम्म सञ्चालन भएको महायज्ञमा रु एक करोड ५० लाख आर्थिक सङ्कलन भएको थियो ।
त्यसपछि मन्दिरमा पूर्वाधार निर्माणको क्रम सुरु भएको हो । मन्दिरको अलवा मुक्तिनाथकै झल्को दिने १०८ धारा, १०८ ओमकार कल्पवृक्ष, १०८ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, उद्यानलगायतका संरचना बनाइएको छ । बौद्ध धर्मावलम्बीको लक्षित गर्दै बौद्धगुम्बा पनि च्यवनधाम परिसरमा छ । बौद्ध धर्मावलम्बीको जागरुपतालाई सम्मान गर्दै गुम्बा पनि बनाएको छ । यहाँ बनाईएको गुम्बाले एकअर्काको धर्मलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने सापकोटाको भनाइ छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







