जिल्लामा मतदाता नामावली अद्याावधिक गरिँदै


     एभरेस्ट आवाज    
     फागुन २० गते २०७८ मा प्रकाशित




म्याग्दी । स्थानीय तह निर्वाचनलाई लक्षित गरी म्याग्दीमा मतदाता नामावली अद्यावधिक सुरु भएको छ । निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्नका लागि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक एवम् दाबी विरोधका लागि कार्यक्रम सञ्चालन गरेको छ ।

मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने र वास्तविक मतदाताहरुको पहिचानका लागि अद्यावधिक अभियान सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए ।

निर्वाचन आयोगमा तयार भएको फोटोसहितको मतदाता नामावलीमा मतदाताका नाम र विवरणमा हुनसक्ने दोहोरोपनलगायत सबै प्रकारका त्रुटिहरु सच्याउनका लागि सबै वडा कार्यालयमा नामावलीको विवरण टाँस गरिएको जनाइएको छ । फागुन २० देखि २५ गतेसम्म अभियानकै रुपमा कार्यतालिका बनाएर मतदाता नमावली प्रकाशन, दाबी विरोधसहितको अद्यावधिक गर्न लागिएको कार्यालयले जनाएको छ ।

म्याग्दीमा अहिले ७८ हजार ३१८ जनाको मतदाता नामावलीको विवरण सङ्कलन भएको छ । अद्यावधिक अभियानका क्रममा मृत्यु भएका, दोहोरोपन भएकाको हटाउने र नाम, थर, उमेर लगायतका विवरणमा त्रुटि भएमा सच्याउन सकिने कार्यालयका सूचना अधिकारी चित्रनाथ शर्माले जानकारी दिए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।