कर्णाली । कर्णाली खेलकुद क्लबको आयोजनामा आगामी चैत २६ गते ४९ किलोमिटर लामो तेस्रो संस्करणको ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८’ हुने भएको छ ।
जुम्लादेखि मुगुको राराताल जाने पद मार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको आयोजकले जनाएको हो। काठमाडौँमा आज पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनका लागि खेलाडी दर्ता खुला भएको जानकारी दिए ।
यसअघि विसं २०७५ मा पहिलो र २०७६ मा दोस्रा संस्करणको खेल आयोजना गरिएको थियो । आयोजकका अनुसार अघिल्ला वर्षमा विजयी खेलाडीलाई रु एक लाख पुरस्कार दिइएकामा यसपालि सोभन्दा बढीको पुरस्कार राशि राखिने भए पनि घोषणा हुन भने बाँकी रहेको जनाइएको छ । यसपालि उत्कृष्ट १० खेलाडी पुरस्कृत हुनेछन् ।
म्याराथन सम्पन्न गर्न रु ५० लाख लाग्ने अनुमान गरिएको छ । म्याराथनमा सहभागी हुन विदेशीले रु चार हजार ५०० र नेपालीले रु एक हजार ६०० शुल्क तिर्नुपर्नेछ । सो रकमबाट रारातालको बाससहित टिसर्ट तथा खाजाखानाको प्रबन्ध गरिएको छ । आगामी चैत २४ गतेसम्म खेलाडीले नाम दर्ता गर्न सक्ने जनाइएको छ ।
कोरोनाका कारण विसं २०७७ मा सञ्चालन हुन नसकेको म्याराथन यसपटक पुनः आयोजना गरिएको उनले जानकारी दिए । समुन्द्री सतहबाट दुई हजार ३०० मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलङ्गाबाट सुरु हुने म्याराथन तीन हजार ३०० मिटरको उचाइमा रहेको डाँफेँ लेक, चार हजार १०० मिटरको उचाइमा रहेको चुच्चेमारा लेक हुँदै दुई हजार ८९० मिटरको उचाइमा रहेको राराताल छेउमा समापन हुने जनाइएको छ ।
जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुटमा व्यावसायिक खेलाडी ५ देखि ७ घण्टामा पार गर्छन् । विगतमा पुरुष र महिला गरी ३४७ खेलाडीसम्मको सहभागिता रहेको यस खेलको यसपालिको संस्करणमा पनि सोही हाराहारीमासहभागिता हुने अपेक्षा राखिएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







