गण्डकी प्रदेशको आइटी पार्क : पर्खाल निर्माण शुभारम्भ


     एभरेस्ट आवाज    
     फागुन २३ गते २०७८ मा प्रकाशित




पोखरा ।
गण्डकी प्रदेशको आइटी पार्क निर्माण कार्यको शुभारम्भ भएको छ । सोमबार कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले आइटी पार्क निर्माणको शुभारम्भ गरेका हुन्। करिब ९६ रोपनी जग्गामा निर्माण हुँदै गरेको आइटी पार्कको पर्खाल निर्माणको शिल्यान्यास गरिएको छ ।
मन्त्री थापाले पर्खाल निर्माणको शिल्यान्यास सँगै आइटी पार्क निर्माणको कार्य अगाडि बढेको जानकारी गराए। ‘पर्खाल निर्माणको शिल्यान्याससँगै आइटी पार्क निर्माण कार्य शुभारम्भ भएको जानकारी गराउन पाउँदा खुशी लागेको छ’, मन्त्री थापाले भने, ‘सूचना प्रविधि पार्कको विस्तृत प्रतिवेदनको कार्य समेत अगाडि बढिरहेको र गण्डकी प्रदेश सरकार आइटी पार्क निर्माण कार्यलाई पूर्णता दिन प्रतिबद्ध छ ।’
पोखरा महानगरपालिकाबाट ९६ रोपनी जग्गा गण्डकी सरकारको मातहतमा आएसँगै तत्कालिन आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइटी पार्क निर्माणको तयारी थालेको थियो । जसको निर्माण कार्यको शुभारम्भ कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालयले गरेको छ । मन्त्री थापाले पार्क निर्माणका लागि प्रदेश सरकारले अब ढिलाई नगर्ने बताउनुभयो । उहाँले सूचनाप्रविधि पार्कको सहज पहुँच प्रत्येक प्रदेशवासीलाई पु¥याउने उद्देश्य स्वरुप प्रदेश सरकार अगाडि बढीरहेको उल्लेख गरे ।
पार्क निर्माण कार्यमा स्थानीयको सहयोग सबैभन्दा महत्वपूर्ण भएको भनाई उनको छ । ‘स्थानीयको सहयोग बिना आइटी पार्क निर्माण कार्यलाई गतिशिलता दिन हामी असमर्थ छौं’, मन्त्री थापाले भने, ‘आशा छ सबैको सहयोग मिल्नेछ ।’ पोखरा महानगरपालिकालाई स्मार्ट महानगरपालिका बनाउनका लागि पनि आइटी पार्कको भूमिका महत्वपूर्ण हुने विश्वास मन्त्री थापाको छ ।
आइटीसँग सम्बन्धित नयाँनयाँ प्रविधिको उत्पादन गर्ने, प्रदेश सरकारले आफ्नो तथ्यांक भण्डारण एवं सुरक्षित गर्नेसँगै प्रदेशअन्तर्गत आइटीसँग सम्बन्धित सबै संस्थाहरुको कार्यालय राख्ने गरी पार्क निर्माणको सोच बनाएको मन्त्रालयका सचिव धर्मराज कुईकेलले जानकारी गराए । उनले गण्डकी सरकारले बनाउन लागेको आइटी पार्क केवल मनोरञ्जनका लागि मात्र नभई अध्ययन अनुसन्धान लागि महत्वपूर्ण हुने बताए । पोखरामा डाटा सेन्टर, आइटीसँग सम्बन्धित नवप्रवर्तन ९इन्नोभेसन० र नयाँनयाँ प्रविधि पत्ता लगाउने ९इन्भेन्सन० का काम पार्कबाट हुने भनाई उनको छ ।
कार्यक्रममा बोल्दै स्थानीय माओवादी नेता राजुप्रसाद तिमिल्सिनाले पार्क बन्दै गर्दा स्थानीय नारायण अधिकारी विस्थापित हुने अवस्था रहेको र प्रदेश सरकारले उनको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको औंल्याए।
नेपाली काँग्रेस पोखरा १८ का इकाई सभापति शिव तिमिल्सिनाले गण्डकी सरकारले बनाउँदै गरेको सूचना प्रविधि पार्क निर्माणको कार्य आफैमा स्वागतयोग्य रहेको र यसले पोखरा १८ का स्थानीयहरुलाई रोजगारीको सिर्जना समेत गर्ने हुँदा समयमा नै निर्माण कार्य सम्पन्न गर्ने गरी लाग्न गण्डकी सरकारलाई अनुरोध गर्नुभएको छ ।
स्थानीय भरतबहादुर थापाले तत्कालिन रत्न प्राविको १ सय ३५ रोपनी जग्गामध्ये ९६ रोपनीको एउटै प्लटमा सरकारले पार्क बनाउने भएको जानकारी गराए । उनले आइटी पार्क निर्माणको कार्य कछुवाको गतिमा हुँदा समस्या खेप्नुपरेको गुनासो पोखे । प्रदेश सरकारले पर्खाल निर्माण गरी जग्गाको सुरक्षा गर्ने र समयमा नै आइटी पार्क निर्माणको कार्यलाई सक्नुपर्ने भनाई उनको छ ।
स्थानीय सुर्य बहादुर खडकाले अनावश्यक राजनीतिक क्रियाकलापका कारण विकासमा बाधा सिर्जना भएको उल्लेख गरे । उनले विकासको एजेन्डामा सबै एक भएर लाग्नुपर्ने धारणा व्यक्त गरे ।
आइटी पार्कको पर्खाल निर्माणको जिम्मेबारी पाउनुभएका निर्माण व्यवसायी विष्णु ढुङ्गानाले स्थानीय नागरिक, जनप्रतिनिधि र प्रदेश सरकारले काम गर्ने सहज वातावरण बनाएको खण्डमा काम समयमा नै सक्ने प्रतिबद्धता व्यक्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।