पोखरा, फागुन २३
कास्कीको माछापुच्छ«े गाउँपालिकामा आवासीय बृद्धाश्रम बन्ने भएको छ । आमा स्मृति फाउण्डेसनको पहलमा माछापुच्छ«े गाउँपालिकाको घाचोकस्थित देउपुजे भन्ने ठाउँमा ७ करोड ५३ लाख ७५ हजारको लागतमा आवासीय वृद्धाश्रम ‘नाना मोहन आश्रम’ बनाउन लागिएको हो । आश्रमको गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका उप–महासचिव पृथ्वी सुब्बा गुरुङले सोमबार शिलान्यास गरे ।
ईमान फाउण्डेसन जर्मनी, आमा स्मृति प्रतिष्ठान माछापुच्छ«े गाउँपालिका र नाना मोहन आश्रमको सहयोगमा ६५ वर्ष माथिका असहाय, गरीब तथा विपन्न परिवारका लागि वृद्धाश्रम निर्माण गर्न लागिएको आमा स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष वसन्त दवाडीले बताए । वृद्धाश्रम निर्माणका लागि स्वर्गिय नाना गुरुङ र मोहन गुरुङको स्मृतिमा उनका छोरा तथा माछापुच्छ«े गाउँपालिकाका प्रमुख कर्णबहादुर गुरुङसहित उनका दाजुभाईहरु दुर्गाबहादुर गुरुङ, बरबहादुर गुरुङ र छोरी शुकमाया गुरुङले करीब २ करोड बराबरको जग्गा दान दिएका छन् । त्यस्तै आश्रम निर्माणका लागि जर्मनीका किसान, उद्योगी, व्यवसायीलगायतबाट संकलन गरिएको ईमान फाउण्डेसनको नामबाट ५ करोड तथा माछापुच्छ«े गाउँपालिकासहित विभिन्न क्षेत्रबाट संकलन गरेर २ करोड ५३ लाख ७५ हजार लगानी गरिनेछ ।
दुई तले भवनमा सञ्चालन हुने वृद्धाश्रममा पाँचतारे होटलको जस्तै सेवा प्रदान गरिने जनाइएको छ । जहाँ रेष्टुरेण्टदेखि स्विमिङ पुलसम्मको सुविधा हुने प्रतिष्ठानका सचिव गुणाखर दवाडीले जानकारी दिए । त्यस्तै, वृद्धाश्रममै नर्सिङ सेवासमेत प्रदान गरिने उनले बताए । ‘वृद्धाश्रममा औषधीसहितको स्वास्थ्य सेवा हुनेछ, भविष्यमा आफ्नो छुट्टै एम्वुलेन्सपनि राख्ने हाम्रो उद्धेश्य हो’–उनले भने । उनका अनुसार वृद्धाश्रममा सिंगल, डबल र ट्रिपल बेड भएका रुमहरु हुनेछन् । भान्छा, बगैंचा र सामान्य पार्कसहितको वृद्धाश्रममा सुरक्षाकोसमेत व्यवस्था गरिने दवाडीले बताए । वृद्धाश्रम भित्रै अडियो, भिडियो कक्षसहितको पुस्तकालय राखिनेछ भने वृद्धवृद्धाहरुका लागि मल्टिमिडिया कक्ष, योगा, मेडिटेसनलगायतका सुविधापनि रहने उनको भनाई छ ।
दुई वर्ष भित्र आंशिक सञ्चालन र ५ वर्ष भित्रमा पूर्ण सञ्चालनमा ल्याउनेगरी वृद्धाश्रम निर्माण कार्य अगाडि बढ्ने जनाइएको छ । पूर्ण सञ्चालनमा आउँदा एक सय जनाको क्षमता हुने वृद्धाश्रममा शुरुमा ४० जनाबाट आंशिक सञ्चालनमा ल्याइने दवाडीले जानकारी दिए । शुरुमा महिला र पुरुष २०÷२० जना रहने र पछि ५०÷५० जना राखिने उनले बताए । महिला र पुरुषका लागि छुट्टाछुट्टै व्लक हुने भएकाले संख्यामा तलमाथि नहुने दवाडीको भनाई छ ।
गरीव, विपन्न र असहायः वृद्धवृद्धाका लागि लक्षित गरिएपनि वृद्धाश्रमलाई आत्मनिर्भर बनाउनका लागि शुल्क तिरेरपनि वृद्धवृद्धा राख्न सकिनेछ । ‘वृद्धाश्रमलाई आत्मनिर्भर बनाउनका लागि यस्तो गर्न लागिएको हो’–उनले भने । उनका अनुसार धनसम्पती तथा छोराछोरी भएकाले वृद्धाश्रममा बस्नका लागि मासिक २५ हजार रुपैयाँ तिर्नुपर्नेछ ।
आमा स्मृति प्रतिष्ठानले हाल सोहि ठाउँमा ज्येष्ठ नागरिक दीवा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । जसमा विहान १० बजेदेखि अपराह्न ५ बजेसम्म वृद्धवृद्धाहरु आएर बस्ने गरेका छन् । ‘घरमा एक्लै नहुने विधि हो यो । आवासीय वृद्धाश्रम सञ्चालनमा आएपछि पनि ज्येष्ठ नागरिक दीवा सेवा केन्द्र सञ्चालन भइरहन्छ’–दवाडीले भने ।
आवासीय वृद्धाश्रमको शिलान्यास गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ । तस्बिर ः सन्देश÷नागरिक
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







