विहान देखि ठप्प डुम्रे–बेँसीसहर सडकखण्ड अझै सञ्चालनमा आएन


     एभरेस्ट आवाज    
     फागुन २५ गते २०७८ मा प्रकाशित




बिहान देखि ठप्प भएको लमजुङ तनहुँ जोड्ने डुम्रे–बेँसीसहर सडकखण्ड अझै सञ्चालनमा आएको छैन् । लमजुङस्थित मस्र्याङ्दी नदीमा डुबेर मृत्यु भएको विद्यार्थीको विषयलाई लिएर तनहुँ बाइसजागर बजारका स्थानीयवासीले टायर बालेर सडक अवरुद्ध गरेपछि ठप्प भएको यातयात अझै सञ्चालन नभएको हो ।

जिल्ला प्रशासन कार्यालय लमजुङले लमजुङ–तनहुँको सिमाना पाउँदीबजारदेखि सिउडीबारसम्म निषेधाज्ञा जारी गरेपछि मृतकका आफन्त तथा पक्षधारहरुले विभिन्न माग राख्दै उक्त स्थानमा विरोध प्रदर्शन गरेपछि यातायत ठप्प हुँदा यात्रु मर्कामा परेका छन् । यता लमजुङतर्फ पाउँदीबजारदेखि सिउँदीबारसम्म आज बिहानदेखि अनिश्चितकालीन निषेधाज्ञाका कारण समेत यस खण्डमा यातयात ठप्प हुँदै आएको छ ।

जिल्लाको सुन्दरबजार नगरपालिका–९ स्थित मस्र्याङ्दी नदीमा मङ्गलबार पौडी खेल्ने क्रममा फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्यनरत तनहुँ भानु नगरपालिका–९ घर भएका १७ वर्षीय सनिज श्रेष्ठको मृत्यु भएको थियो ।

होस्टेलमा बसेका श्रेष्ठको आफन्तलाई जानकारी नै नदिई होस्टेलबाहिर पौडी खेल्न पठाएको, आफन्तलाई थाहा नै नदिई शव लगेको, विद्यालयका संस्थापक बाबुराम पौडेल, मृतक श्रेष्ठसँगै पौडी खेल्न गएका विद्यालयका शिक्षक र अर्का विद्यार्थीमाथि छानबिन हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरुले मङ्गलबार सो विद्यालयका दुई स्कुल बस र एउटा भ्यानको सिसा तोडफोड गरेको थियो । उक्त घटनालाई लिएर उग्ररुप लिन थालेसँगै ठूलो भीडलाई सामान्य अवस्थामा ल्याउन प्रहरीले १३ सेल अश्रुुग्यास र एउटा हवाई फायरसमेत गर्नुभएको प्रहरी निरीक्षक जनकराज रेग्मीले बताए ।

उनका अनुसार मृतक विद्यार्थीसँगै गएका शिक्षक सरोज ओलिया र सबिन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सवारी साधन थप्प भएपछि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन लगायतका स्थानमा जाने र सो तर्फबाट लमजुङ आउने कुनै पनि सवारी साधन सञ्चालन हुन पाएका छैनन् । उक्त क्षेत्रमा निषेधाज्ञा जारी र तनहुँको बाइसजागरमा टायर बालेर विरोध प्रदर्शन गरेपछि टाढा टाढा पुग्नुपर्ने यात्रुलाई समस्या भएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।