नवलपुरले जित्यो गैँडाकोट मेयर कप टी–२० को उपाधि


     एभरेस्ट आवाज    
     फागुन २६ गते २०७८ मा प्रकाशित




नवलपरासी (बर्दघाट–सुस्तापूर्व) क्रिकेट संघले गैँडाकोट प्रथम मेयर कप टी–२० क्रिकेटको उपाधि जितेको छ।

गैँडाकोटमा बुधबार सम्पन्न राष्ट्रियस्तरको प्रतियोगिताको फाइनलमा गैँडाकोटले मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि नवलपुरले फाइनलमा स्याङ्जा क्रिकेट संघलाई ५ विकेटले हराउँदै उपाधि हात पारेको हो।

नवलपुरले उपाधिसँगै नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ। उपविजेता चित्त स्याङ्जा क्रिकेट संघले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

टस जितेर ब्याटिङ रोजेको स्याङ्जाले १७ दशमलव १ ओभरमा सबै विकेटको क्षतिमा ८३ रनको योगफल तयार पारेको थियो। स्याङ्जाका लागि ईश्वर खनालले १३ बलमा २ चौका र १ छक्कासहित १८ रन तथा ईश्वर क्षत्रीले २२ बलमा एक चौकासहित ११ रनको साझेदारी गरे। स्याङ्जाका अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्।

बलिङतर्फ नवलपुरका किशोर महतोले ३ ओभरमा ८ रन खर्चिदै २ विकेट, सुदीप अर्यालले ४ ओभरमा १४ रन खर्चिदै २ विकेट तथा विशाल पौडेलले ४ ओभरमा २० विकेटको क्षतिमा २ विकेट लिए। ८४ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नवलपुरले १४.२ ओभरमा विजय लक्ष्य भेट्टायो। नवलपुरले १४.२ ओभर खेल्दै ५ विकेटको क्षतिमा ८४ रन बनाउन सफल भएपछि उपाधि उचालेको हो। नवलपुरका लागि कमल परियारले ‘नटआउट’ ४ बलमा ३ छक्का सहित १९ रनको योगफल तयार पारे।

त्यस्तै, नवलपुरको जितका लागि ब्याट्सम्यान राजेश ढकालले ३१ बलमा २४ रन, गोविन्द विकले १८ बलमा १२ रन, विदुर पुनले १४ बलमा १० रन तथा दीपक डुम्रेले १७ बलमा १० रनको योगफल तयार पारे। बलिङतर्फ स्याङ्जाका सुरज गुरुङले ३ ओभरमा २४ रन खर्चदै २ विकेट तथा करण पंगेनी, ईश्वर खनाल र विपिनराज न्यौपानेले समान १÷१ विकेट लिए।

नवजागरण ग्रामीण विकास केन्द्र गैँडाकोटको आयोजनामा सम्पन्न प्रतियोगितामा नवलपुर, स्याङ्जा, चितवन, तनहुँ, कास्की, पर्वत, बागलुङ, नवलपरासी गरी ८ टिमको सहभागिता थियो।

प्रतियोगिताको विजेतालाई गैँडाकोटका नगरप्रमुख छत्रराज पौडेलले नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार प्रदान गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।