पिप्ले–भगवती कालोपत्र सडक योजना अलपत्र


     एभरेस्ट आवाज    
     फागुन २७ गते २०७८ मा प्रकाशित




म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको गलेश्वर राहुघाटबाट पिप्ले–भगवती कालोपत्र सडक अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले बीचैमा काम छाडेपछि योजना अलपत्र परेको हो ।

निर्माण कम्पनीका साझेदारहरूबीच आर्थिक लेनदेनको विषयमा विवाद भएपछि एक सातादेखि कार्यक्षेत्रमा सम्पूर्ण काम ठप्प भएको छ । आयोजनाको थप भएको समयमा समेत काम नगरिकन निर्माण कम्पनीले काम छाडेपछि बिहीबार नेकपा ९माओवादी केन्द्र० रघुगङ्गा गाउँपालिकाले सम्बद्ध निकायमा ध्यानकर्षण गराएको छ ।

माओवादी केन्द्रका रघुगङ्गा गाउँपालिका कमिटी अध्यक्ष हरि भण्डारी, वडा नं २ का वडा कमिटी अध्यक्ष बालकृष्ण कटुवाल र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रेशम कटुवालको नेतृत्वमा गएको टोलीले पूर्वाधार विकास कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई आयोजनाबारे ध्यानकर्षण गराएका हुन् ।

ध्यानकर्षणपत्र बुझाउँदै माओवादी केन्द्रका रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भण्डारीले कालोपत्र सडक निर्माण गर्ने योजनालाई निर्माण कम्पनीले अलपत्र पारेपछि सम्बद्ध निकायलाई जानकारी गराउने र कानुनबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन ध्यानकर्षण गराइएको बताए ।

योजनालाई अधकल्चो बनाएर छाडेपछि प्रभावित क्षेत्रका स्थानीयवासीमा चिन्ता बढेको भन्दै उनले निर्माण कम्पनीलाई तत्काल कार्यक्षेत्रमा फर्काउने वातावरण बनाउन भूमिका खेल्न प्रशासन र योजना कार्यान्वयन गर्ने कार्यालयलाई आग्रह गरिएको बताए । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सम्बन्धित कार्यालय र निर्माण कम्पनीसँग आवश्यक सोधपुछ गरी अलपत्र योजनालाई गति दिनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले कुनै पनि कम्पनीलाई योजनालाई बीचैमा अलपत्र छाडेर हिँड्ने छुट नहुनेसमेत बताए । योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले गत जेठमै योजनालाई सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म आधाको हाराहारीमा मात्रै भौतिक प्रगति गरेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।