सृजना कप छात्र/छात्रा भलिबल प्रतियोगिताको तयारी तिव्र


     एभरेस्ट आवाज    
     चैत्र १ गते २०७८ मा प्रकाशित




पोखरा, चैत १

पोखरामा यहि चैत ४ गतेदेखि ७ गतेसम्म हुने सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा यहि शुक्रबारदेखि हुने प्रतियोगिताको तयारी तिव्र पारिएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विगत ४ वर्षदेखि हुँदै आएको प्रतियोगिताको यो चौथो संस्करण हो । प्रतियोगिताको तयारी स्वरुप अहिले टिम दर्ताको काम अन्तिम चरणमा पुगेको आयोजक कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । उनका अनुसार टीम दर्ताका लागि पहिल्यै स्कुल÷स्कुलमा पुगेर खबर गरिएअनुसार अहिले उनीहरुले टीम दर्ता गरिरहेका छन् । भोलि बुधबारसम्म टीम दर्ता गर्न सकिने अध्यक्ष पराजुलीले जानकारी दिए ।

टीम दर्ताको काम सकिएलगत्तै बुधबार नै टाईसिट निकालिने सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए । ‘भोलिसम्म टीम दर्ता हुन्छ, टीम दर्ता सकिएलगत्तै भोलि नै हामी टाइसीट निकाल्छौं’–उनले भने ।

प्रतियोगिताको तयारी अन्तर्गत प्रतियोगिता हुने पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा मञ्च निर्माणको काम भइरहेको छ । त्यस्तै, भलिबल खेल मैदान तयार बनाउनेदेखि म्याट ओछ्याउनेलगायतका काम भइरहेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । त्यसबाहेक अतिथिहरुलाई निम्तो गर्ने, प्रचारप्रसारलगायतका कामलाईपनि तिव्र पारिएको उनले बताए ।

भलिबलको जग मानिने सामुदायिक विद्यालयमा भलिबल खेलमा पुर्नजागरण ल्याउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले सहभागिता जनाउनेछन् । सहभागिताका लागि कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सम्मिलित टिमले सहभागिता जनाउन सक्ने संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । ‘हामीलाई विश्वास छ, प्रतियोगिताले सामुदायिक विद्यालयमा खस्किएको भलिबल उकास्न भूमिका खेल्नेछ ।’

प्रतियोगितामा ५० टिमले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ ।

प्रतियोगितामा उपाधि बिजेता छात्र÷छात्रा दुबै तर्फकालाई एक÷एक लाख, उपबिजेतालाई ५०/५० हजार र तृतीय हुने विद्यालयलाई ३०÷३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५÷५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर र उत्कृष्ट ब्लकरलाई १÷१ थान भलिबल प्रदान गरिने अध्यक्ष पराजुलीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।