कालीगण्डकीमा जलविहारको सम्भाव्यता अध्ययन


     एभरेस्ट आवाज    
     चैत्र १ गते २०७८ मा प्रकाशित




तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाले कालीगण्डकी नदीमा जलविहार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको छ । पोखरास्थित प्याडल नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले सम्भाव्यता अध्ययन गरेको हो ।

गाउँपालिकालाई पर्यटनको माध्यमबाट विकास गर्ने उद्देश्यसहित जलविहार सञ्चालन गर्ने सोच बनाइएको अध्यक्ष रनबहादुर रानाले जानकारी दिए। गाउँपालिकाले यसका लागि रु १५ लाख बजेट विनियोजन गरेको छ । घिरिङ –१ बैडीबाट घिरिङ –४ करुवाटारसम्म जलविहार सञ्चालन गरिने जनाइएको छ ।

यसअघि घिरिङसँग सिमाना जोडिएको चापाकोट, बौदीकालीको संयुक्त पहलमा जलविहार सञ्चालन गर्न खोजिए पनि सम्भव भएको थिएन । जलविहार गर्न आउनेलाई बास बस्नका लागि घरबास पनि सञ्चालन गरिएको छ । पुट्टारको घरबास, दृश्यावलोकन केन्द्रलगायतलाई जोडेर जलविहार सञ्चालन गर्ने लक्ष्य लिइएको अध्यक्ष रानाले बताए।

नारायणी नदी किनारमा सञ्चालन गरिएको जस्तो मोटरबोट सञ्चालन गर्ने भनिए पनि कालीगण्डकीमा त्यो सम्भव नदेखिएको उनले बताए । गाउँपालिकाले अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई बैडीबाट करुवाटारसम्म जलविहार गराएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।