‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान आजदेखि


     एभरेस्ट आवाज    
     चैत्र १ गते २०७८ मा प्रकाशित




चितवन । नेपाली कांग्रेस चितवन जिल्ला शाखाले आजदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरेको छ । जिल्लामा रहेका तीनवटै सङ्घीय निर्वाचन क्षेत्रमा आज औपचारिक कार्यक्रम गरी अभियान सुरु गर्न लागिएको हो ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै अभियान सुरु गरिएको सचिव ध्रुवराज पोख्रेलले जानकारी दिए । चितवन क्षेत्र नम्बर १ मा क्षेत्रीय पार्टी कार्यालय पर्सा–२ मा कांग्रेस जिल्ला पार्टी कार्यालय र क्षेत्र नं ३ को गीतानगरस्थित होटल रोयल ब्याङ्क्वेटबाट अभियान शुभारम्भ गरिँदै छ ।

उनका अनुसार क्षेत्र नम्बर १ मा सचिव सूर्य अर्याल र सहसचिव दिनेश अधिकारी, क्षेत्र नम्बर २ मा उपसभापति शालिग्राम शर्मा र सचिव ध्रुवराज पोख्रेल र क्षेत्र नम्बर ३ मा उपसभापति राजीव न्यौपाने र सहसचिव गोपाल दराईलाई जिल्ला प्रतिनिधिको रुपमा खटाइएको छ । क्षेत्रको कार्यक्रमका लागि केन्द्रबाट खटिएका केन्द्रीय प्रतिनिधि अव्दुल सतार उपस्थित भई अभियानका बारेमा जानकारी गराउने छन् ।

अभियानमा प्रत्येक निर्वाचन क्षेत्रमा जिल्ला कार्यसमितिका दुई प्रतिनिधिसहित कांग्रेस नेता तथा कार्यकर्ता परिचालन गरिएको पोख्रेलले जानकारी दिए । उनका अनुसार हरेक टोल, वडा तहमा ती नेता एवं कार्यकर्ता पुगेर सर्वसाधारणलाई एमसिसीका विषयमा भएको भ्रम चिर्ने र कांग्रेसका उम्मेदवारलाई मतदान गर्न प्रेरित गर्ने छन् ।

फागुन २९ गतेदेखि सुरु भएको अभियान चैत २९ गतेसम्म सञ्चालन गरिने छ । अभियानका क्रममा क्षेत्र, प्रदेश र वडास्तरमा जागरणका कार्यक्रम सञ्चालन गरिने र टोलटोलमा नेपाली कांग्रेसको टोल कार्यसमिति गठन गरी पार्टी सङ्गठनलाई जनस्तरसम्म पु¥याइने छ । चितवनमा पार्टीको १४औँ महाधिवेशनका क्रममा २८ हजार क्रियाशील सदस्य पुगेका र अभियानका क्रममा तिनलाई समेत परिचालन गरिने जनाइएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।