तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन:अध्यक्ष प्रचण्ड


     एभरेस्ट आवाज    
     चैत्र ३ गते २०७८ मा प्रकाशित




फाइल तस्विर : पुष्प कमल दाहाल प्रचण्ड अध्यक्ष, नेकपा माओवादी केन्द्र

लुम्बिनी । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

उनले चुनावमा आफ्नै सङ्गठनलाई बलियो बनाएर जानुपर्ने र आफ्नै तागतमा जनताको मन जित्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नसमेत कार्यकर्तालाई आग्रह गरे ।

प्रेस सङ्गठन लुम्बिनीद्वारा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरे । उनले निर्वाचनमा तालमेल गर्ने र अधिकतम परिणाम निकाल्ने कुरालाई सहायक प्राथमिकतामा राखेर निर्वाचन तयारीमा लाग्न आग्रह गर्दै निर्वाचनका बारेमा कुनै आशङ्का नगर्नसमेत आग्रह गरे ।

अध्यक्ष दाहालले सरकारमा सहभागी पाँचदलीय गठबन्धन नै निर्वाचनसम्म जोगाएर लैजाने पक्षमा रहेको जानकारी दिए । उनले चुनाव हुन्छ वा हुँदैन भन्ने आशङ्का अवस्था अझै व्याप्त रहेको जनाउँदै आफूहरु चुनावको तयारीमा पूरै तागत लगाएर गइसकेको बताए ।

पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहितका नेतासँगै पत्रकार सम्मेलनमा आएका अध्यक्ष दाहालले पार्टीभित्र एमसिसीका कारण उत्पन्न विवाद समाधान भइसकेको र आफूहरु एकढिक्का भएर चुनावी अभियानमा हिँडिरहेको बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।