पर्वत । हिउँदको समयमा खानेपानीको अभाव हुँदै आएको सदरमुकाम कुश्मा बजारमा बोरिङ गरी निकालिएको पानी आपूर्ति गरिने भएको छ । अहिलेसम्म रहेका तीनवटा स्रोतबाट ल्याइएको पानीले माग धान्न सकेको छैन ।
गर्मीयाम सुरू भएसँगै बजारमा पानीको अभाव हुँदै आएको छ । त्यसको समाधान गर्न बोरिङ गरी पानी निकाल्ने तयारी गरिएको छ । शिवालय कुश्मा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रवीकुमार श्रेष्ठका अनुसार कुश्मा नगरपालिका–४ चिलाउने चौतारा नजिकै परीक्षण गर्दा १७० मिटरको गहिराइमा पानी भेटिएको छ ।
अब एक साताभित्र पानी आपूर्ति गर्ने गरी बोरिङ प्रणालीको काम पूरा गर्ने गरी काम भइरहेको श्रेष्ठले बताए । पानी निकाल्न करिब रु ३० लाख खर्चको अनुमान छ । गर्मीयाम नै पानीको माग बढी हुने भए पनि सुख्खापनका कारण यही बेलामा पानीका स्रोतमा मात्रा घट्ने गरेको छ । कुश्मा बजारमा अहिले दैनिक करिब ४० लाख लिटर पानीको माग रहे पनि ३२ लाख लिटर मात्रै आपूर्ति भइरहेको छ ।
गर्मीयाममा आपूर्ति घटेर २५ लाख लिटरसम्म झर्ने गरेको छ । खानेपानी संस्थाका कार्यालय प्रमुख ज्योतिन्द्र पौडेलका अनुसार मोदी गाउँपालिकाको पातीखोला, कुश्मा नगरपालिकाको केवादीखोला र डम्डारे खोला गरी तीन ठाउँबाट कुश्मा बजारका लागि पानीको आपूर्ति हुने गरेको छ ।
गत भदौमा वर्षासँगै आएको पहिराका कारण डम्डारे खोलाको आपूर्ति अवरुद्ध भएको छ । त्यहाँबाट प्रतिसेकेन्ड दुई लिटर पानी आउने गरेको थियो । मोदी गाउँपालिकाको पातीखोलाबाट ल्याइएको पाइपमा हिउँद र बर्खा सबै समयमा प्रतिसेकेन्ड १७ लिटर पानीको आपूर्ति हुँदै आएको छ । पानीको मुख्य स्रोतका रूपमा रहेको खुर्कोटको केवादी खोलाबाट प्रतिसेकेन्ड २२ लिटर पानी आउने भए पनि गर्मीयाममा प्रतिसेकेन्ड छ लिटरमा झर्ने गरेको छ ।
मुख्य स्रोतबाट नै प्रतिसेकेन्ड १६ लिटर कम पानी आउँदा बजारमा अभाव हुने गरेको छ । बोरिङ गरेर पानी निकालिए पनि मागअनुसार पर्याप्त भने हुने छैन । सामान्य अवस्थामा प्रतिसेकेन्ड ४१ लिटर पानीको आपूर्ति हुने गरेको कुश्मामा गर्मीयाममा प्रतिसेकेन्ड २५ लिटर मात्रै पानी आउने गरेको छ । कुश्माबजारमा झण्डै दुई हजार धारा वितरण गरिएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







