फागु पूर्णिमाः तराईमा आज होली


     एभरेस्ट आवाज    
     चैत्र ४ गते २०७८ मा प्रकाशित




आज पनि फागु पूर्णिमा। तराईमा आज धुमधामसँग फागु पूर्णिमा अर्थात होली मनाइँदैछ।

सद्भाव, सौन्दर्य र रसरंगको रंगीन पर्व मानिएको होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ।

भौगोलिक संरचना र मान्यताअनुरूप हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन ‘फागु’ को रुपमा मनाइने यो पर्व मधेशमा पूर्णिमाको भोलिपल्ट होलीको रुपमा मनाइँदैछ। प्रदेश सरकारले पनि आज (शुक्रबार) तराईमा विदा दिएको छ।

मधेशमा होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड समेत हो। सबै प्रकारका भेदभावलाई भष्म गरी सबैलाई एउटै रंगमा रंगाउने होली पर्व समानता र सद्भावको प्रेरणाको स्रोत मानिन्छ। हिन्दू, मुस्लिम, सिख, इसाई, मंगोल, किराँत, राई लगायतको जातजातिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमंग एवं उत्साहको संचार गर्ने पर्वको रुपमा मधेशमा मनाइन्छ। यस पर्वले असत्यमाथि सत्यको, छलमाथि निष्चलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको मान्यता छ। वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन छ।

यसै क्रममा होली पर्वको परम्परा ऋतुराज वसन्तका मित्र मदन अर्थात् कामदेवको पूजाबाट शुरू भएकाले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा पनि मनाइन्छ। रसरंग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रंगमा अरूलाई रंग्याउने, ढोल, डम्फु , झाल, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउँछ।

फागुन पूर्णिमाका दिन तराई–मधेशमा कतिपय परिवारमा कुलदेवतालाई नैवेद्य चढाउने गरिन्छ। जसलाई मैथिली भाषामा ‘पातरी’ भनिन्छ। राति सामूहिक रूपमा होलिका दहन गर्ने चलन छ। तराइका लागि होली प्रजातान्त्रिक पर्व भएकाले यसमा जातजाति र वर्गमा भेदभाव नगरी धनी, गरीब, उच, नीच सबै मिलेर मनाउने परम्परा छ।

सांस्कृतिक महत्वका साथै वैज्ञानिक महत्व रहेको यस पर्वमा खेलिने रंग र अबीरले छालाको रोग निवारण गर्ने, खोकी नास गर्ने, होलिका दहनको धुवाँबाट शीतकालजन्य रोग नाश हुने, खरानीले दृष्टात्माको कुदृष्टि समेत नपर्ने मान्यता छ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ। त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परंपरा चलेको विश्वास गरिन्छ। यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई आफै मरेको कथा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।