तनहुँ । म्याग्दे गाउँपालिका–२स्थित लिफ्ट झ्यालगैह्रा खानेपानी आयोजना निर्माण भइ स्थानीयवासीका घरघरमा खानेपानी उपलब्ध गराइएको छ । सङ्घीय सरकार र गण्डकी प्रदेशको गरी कूल रु दुई करोड ५१ लाख २४ हजार ३३२ को लागतमा उक्त आयोजना निर्माण गरिएको हो ।
पानीको समस्याका कारण यस क्षेत्रका मानिसले धेरै कठिनाइ भोग्दै आएको स्थानीय उपभोक्ता सोमबहादुर थापाले बताए । सङ्घीय सरकारबाट रु एक करोड ४६ लाख ४९ हजार ५४९, प्रदेश सरकारबाट रु ४० लाख ८७ हजार ५६ र थप रु तीन लाख ४२ हजार १६८ उपलब्ध गराउनका साथै रु ६० लाख २५ हजार ६०६ बराबरको श्रमदान व्यहोरिएको थियो ।
झ्यालगैह्राबाट ऋषिथुम डाँडासम्म करिब एक किलोमिटर लामो दूरीमा खानेपानी लगेर ट्याङ्कीमा सङ्कलन गरी वितरणको व्यवस्था मिलाइएको छ । उक्त आयोजनाबाट १६७मध्ये हाल १३९ घरधुरीका बासिन्दा लाभान्वित भएका उक्त आयोजनाका सचिव ईश्वरराज काफ्लेले जानकारी दिए ।
साठी वटा सोलार प्यानल जडान गरी बस्तीभन्दा तल रहेको खोल्सीको पानी ३५० मिटर भर्टिकलको उचाइमा उठाएर पन्ध्र हर्षपावर क्षमताको मोटरको सहायताले लिफ्ट गरी ऋषिथुम डाँडामा निर्माण गरिएको ४० हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन गरी वितरणको व्यवस्था मिलाइएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







