९० घरमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न


     एभरेस्ट आवाज    
     चैत्र ६ गते २०७८ मा प्रकाशित




गुल्मी । खानेपानीको समस्या भएको गुल्मीको धुर्कोट र इस्मा गाउँपालिका क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको धुर्कोट–४ जैसिथोक गोपेमा ४० तथा इस्मा–२ पालुखामा ५० गरी कूल ९० घरमा खानेपानीको धारा जडान कार्य सम्पन्न भएको हो ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले शनिबार ‘एक घर एक धारा’ कार्यक्रमको उद्घाटन गरे। अव्यवस्थित सामुदायिक खानेपानीको धारा रहेको उक्त क्षेत्रमा मुस्किलले दिनमा दुई घण्टा मात्रै पानी आउनेमा अहिले घरमै मिटर सहितको धारा जडान भएको उनले बताए ।

अव्यवस्थित रुपमा रहेको खानेपानीलाई व्यवस्थित गरी घरघरमा धारा जडान गर्दा यस क्षेत्रका स्थानीयवासी खुशीले दङ्ग परेका छन् । अर्की स्थानीयवासी पवित्रा पोखरेलले जनप्रतिनिधिले निर्वाचनमा गरेका वाचा पूरा गरेको बताए । सो खानेपानी आयोजनाका पूर्वसचिव एवम् पालुखा माध्यमिक विद्यालयका प्रधानाध्यापक बाबुराम खत्रीले घरमै पानी आएसँगै विद्यार्थीको शैक्षिक भविष्यमा समेत सुधार आउने बताए ।

घरमा पानी आएसँगै अहिले स्थानीयवासीले खेतबारीमा तरकारी लगाउन थालेको प्रधानाध्यापक खत्रीले बताए । जैसिथोक लिफ्ट खानेपानी योजना, रौताडी र गोपे स्कीमअन्तर्गत गोपे स्कीम आयोजनाबाट ९० घरधुरीमा पानीको धारा पुगेको हो । २०७१ सालमा सुरु भएको सो योजनामा अहिलेसम्म रु तीन करोड ३५ लाख खर्च भइसकेको बताइएको छ ।

जुकेपानी, पानीकुन्टा र खजुरेबाट लिफ्टिङ प्रविधिबाट पानी ल्याइएको छ । सबैभन्दा टाढा पनाहा खोला नजिकबाट पाँच सय मिटरमाथि ट्याङ्कीमा पानी ल्याइएको आयोजनाका रौताडी स्कीमका अध्यक्ष पूर्णप्रसाद पोखरेलले जानकारी दिए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।