चुनावमा भाग लिन झापामा मङ्गोल नेसनलसहित ३६ दल दर्ता


     एभरेस्ट आवाज    
     चैत्र ८ गते २०७८ मा प्रकाशित




झापा । जिल्ला निर्वाचन कार्यालय झापामा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि मङ्गोल नेशनल अर्गनाइजेसनसहित ३६ वटा दल दर्ता भएका छन् । कार्यालयका सूचना अधिकारी प्रेम न्यौपानेका अनुसार छ वटा राष्ट्रिय दल र ३० अन्य गरी ३६ वटा दल कार्यालयमा आइतबारसम्ममा दर्ता भएका हुन् ।

विसं २०७४ को स्थानीय निर्वाचनमा ३२ वटा दल दर्ता भएर निर्वाचनमा सहभागी भएका थिए । यसपटक थप चार नयाँ दल थपिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । उनले मङ्गोल नेशनल अर्गनाइजेसन, मौलिक जरोकिलो पार्टी, जनमत पार्टीलगायत थपिएको बताए । कार्यालयले जिल्लामा चुनावमा भाग लिन इच्छुक दललाई दर्ता प्रक्रियाका लागि चैत २ देखि चैत ६ गतेसम्म समय दिएको थियो ।

निर्वाचन गराउन जिल्लामा छ हजार ६०० कर्मचारी परिचालन गरिने जनाउँदै धमाधम सरकारी कार्यालयसँग कर्मचारीको विवरण लिने काम भइरहेको उनले बताए । कार्यालयले निर्वाचन आयोगद्वारा निर्धारित मापदण्डअनुसारको जनशक्ति नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट काजमा झिकाइ निर्वाचनसम्बन्धी काममा खटाउने भएको छ ।

सरकारी कार्यालयबाट आएको विवरणको आधारमा जिल्ला जनशक्ति व्यवस्थापन समितिले आवश्यक कर्मचारीलाई कार्यालयमा काजमा ल्याई निर्वाचन प्रक्रियामा खटाइने उनको भनाइ छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।