प्रधानमन्त्री देउवा बिहीबार तनहुँ आउदै


     एभरेस्ट आवाज    
     चैत्र ९ गते २०७८ मा प्रकाशित




फाइल तस्विर : शेरबहादुर देउवा, प्रधानमन्त्री

तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार तनहुँ आउने भएका छन्। जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री तनहुँ आउन लागेका हुन् ।

प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जलविद्युत् आयोजनाको निरीक्षणपश्चात् प्रधानमन्त्री देउवाले निर्देशन दिने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री देउवा नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । लगत्तै उहाँले तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु हुने आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रजिअ अर्यालले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले बिहीबार नै ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्नेछन् । गाउँपालिकाले रु तीन करोड ५० लाखको लागतमा प्रशासकीय भवन निर्माण गरेको हो । उक्त भवनको उद्घाटन सकेर प्रधानमन्त्री देउवा काठमाडौँ फर्किने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।